पर्यटन बोर्डको सीइओ छनोटमा राजनीति, उपसमिति सदस्य महराले दिए सचिवलाई चुनौती



काठमाडौं । नेपाल पर्यटन बोर्डको सीइओ छनोटमा चरम राजनीति भएको छनोट उपसिमितिका सदस्य कृष्णबहादुर महराले आरोप लगाएका छन् ।

उपसमितिले तीन जनाको नाम सर्टलिस्ट गरेर पठाउँदा समेत बोर्ड सञ्चालक समितिका अध्यक्ष रहेका पर्यटन सचिव केदारबहादुर अधिकारीको गलत मनशायका कारण सीइओ छनोटमा ढिलाइ भएको आरोप लगाएका हुन् ।

महराले सचिवको मनशाय गलत रहेको बताउँदै उक्त मनशाय कुनै पनि हालतमा पूरा हुन नदिने भन्दै चुनौती समेत दिए

यसअघि आइतबार दिउँसो सवा ४ बजे बैठक बस्ने र सोही बैठकले सीइओ छनोट गर्ने तालिका थियो । तर सचिव आफैले पटक–पटक बैठक सारेकाले बैठक बस्न नसकेको महराको आरोप छ ।

सचिव अधिकारीले आइतबारको बैठक सोमबारका लागि सारेका थिए । तर सोमबार पनि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्ने सन्देश पठाएका थिए । त्यसपछि महराले फेसबुकमा स्ट्याटस लेखेर असन्तुष्टि पोखेका हुन् ।

सन्देश आएपछि उपसमितिका अर्का सदस्य विप्लव पौडेल सोमबार नै पोखरा हिँडेका छन् । पौडेलले बैठकका लागि सूचना आएपछि मात्रै आफू काठमाडौं आउने बताए । आइतबार र सोमबार बैठकका लागि पोखरा नगइ काठमाडौं बसेका पौडेल सोमबार उक्त सन्देश पाएपछि पोखरा हिँडेको बताए ।

महराको फेसबुकको स्ट्याटस

सीइओ छनौट गर्न बोलाइएको पर्यटन बोर्डको बैठक छलफल नै नगरी पटक पटक स्थगित गरिएको छ । र, अहिले आएर अर्को सूचना नआएसम्मका लागि भनेर स्थगित गरिएको म्यासेज आयो । बोर्डको बैठकमा सम्भावित ३ जनाको विषयमा छलफल गर्ने हो कि नेताको घरघरमा गएर चाकडीको शैली प्रदर्शन गर्ने हो ? पीपीपीको कन्सेप्टमा नेपालको पर्यटन बिकास गर्ने उद्देश्यले गठन भएको संस्थालाई यस्तै मनोवृतिका मानिसको नेतृत्वका कारण बोर्डको आन्तरिक व्यवस्थापन जर्जर भएको छ । भ्रष्टाचार मौलाएको छ, मालपोत र सडकपछि अख्तियारको दैनिकजसो नजर त्यहाँ छ । यस्तो संस्थामा एकजना राम्रो मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मनसायलाई बोर्डको अध्यक्षले ठाडै लत्याउन खोजेको देखिएको छ । तर तपाइको त्यो मनशाय कुनै पनि हालतमा पूरा हुन दिइने छैन यो मेरो ठाडो चूनौती हो ।


क्लिकमान्डु