कृषि विकास बैंकले साढे २ अर्बको ऋणपत्र ल्याउँदै



काठमाडौं । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ७ वर्ष अवधिको लागि ‘१०.३५% एडीबीएल कृषि बैंक ऋणपत्र २०८३’ निष्काशन गर्न लागेको जनाएको छ ।

वार्षिक १०.३५ प्रतिशत ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी माघ १४ गतेदेखि १७ गतेसम्म ऋणपत्र निष्काशन हुने छ । उक्त अवधिमा विक्री नभएको खण्डमा फागुन १४ गतेसम्म आवेदन दिन पाइने छ ।

२ अर्ब ५० करोड मध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणले किन्न पाउनेछन् । एक अर्ब ५० करोडरुपैयाँको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने बैंकले जनाएको छ ।

न्यूनतम २५ देखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । बैंकको ऋणपत्रका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई रोजेको छ ।

ऋणपत्रलाई इक्रा नेपालले ‘इक्राएनपी एल ए’ रेटिङ दिएको छ । धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिने जानकारी गराइएको छ ।


क्लिकमान्डु