आयात घट्दा शोधानान्तर २३ अर्ब बचतमा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ५ महिनासम्ममा ७५ करोड १ लाख रुपैयाँले घाटामा रहेकोमा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु खाता घाटा ७० अर्ब ३२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको ५ महिनासम्ममा १ अर्ब ४ करोड रुपैयाँ रहेको चालु खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रुपैयाँ छ ।

यो अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ । जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

यो पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर ५८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, मेची, तातोपानी र कन्चनपुर बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी, कन्चनपुर र रसुवा बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी ५ खर्ब ३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात- आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु