बैंकासुरेन्स रोकेर राष्ट्र बैंकले गलत गर्यो: जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे

क्लिकमान्डु २०७६ माघ ५ गते १४:२४ मा प्रकाशित

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर अवकास पाएपछि शिवनाथ पाण्डे अहिले सुर्या लाइफ इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृत छन् । जीवन बीमा कम्पनीहरुको सीइओको संस्था जीवन बीमा कम्पनी संघ स्थापना गरेर उनी अहिले अध्यक्ष छन् । चाटर्ड एकाउन्टेन्स समेत रहेका पाण्डेसँग जीवन बीमा कम्पनीको अवस्था तथा संघ खोल्नुको विषयमा क्लिकमाण्डूले गरेको कुराकानी ।

बीमा कम्पनीको पहिला एउटै संस्था थियो । तर तपाईंहरुले जीवन बीमा संघ भनेर अर्को संस्था खोल्नुभयो नि किन ?

पहिला जीवन बीमा कम्पनीको संख्या ९ वटा थियो भने १८ वटा निर्जीवन बीमा कम्पनीको संख्या थियो । पछि राज्यले लाइसेन्स खोल्यो । त्यसपछि हामी १९ वटा कम्पनी भयो । अहिले निर्जीवन बीमा कम्पनीको संख्या २१ रहेको छ । ४० वटा बीमा कम्पनीको संख्या भयो । संख्याका हिसाबले बराबरी जस्तै भयो । पहिला जीवन बीमा कम्पनीहरु संख्याको हिसाबले पनि कम तथा जीवन र निर्जीवनको व्यवसाय फरक हो ।

जीवन बीमाको विषयमा छलफल गर्दा कुरा खासै आएन । एकै ठाउँमा छलफल गर्दा जीवन बीमासँग इस्युहरुलाई सम्बोधन हुन सकेन । पूर्णरुपमा फरक भएको हुँदा तथा हाम्रो ऐजेण्डा आफ्नो ठाउँमा राख्न तथा हाम्रो व्यवसायको बारेमा छलफल गर्न तथा लगानी बढाउनको लागि एउटै फोरममा बसेर काम गर्न सकिएन । त्यो हुँदा छुट्टै जीवन बीमा संघ चाहिन्छ भन्ने आवश्यक्ता भएको हो । त्यो अनुसार संस्था गठन भएको हो ।

अहिलेसम्म संस्थाको पहिलो बैठक बसेको छ । यसको उद्देश्य जीवन बीमा कम्पनीबीच एक आपसको सूचना सेयर गर्ने र आंचारसहिता बनाउने र बिकृतिलाई हटाउने हो । बिकृति गर्नेलाई कारवाही गर्न हामी समितिमा उजुरी दिने काम गर्ने हो । जीवन बीमा कम्पनीको व्यवसाय बढाउन सीइओको बीचमा छलफल गर्न जरुरी छ ।

हाम्रो ३ खर्ब जति लगानी छ । मोटो रकम हामीले बैंक तथा वित्तीय संस्थामा राखेको अवस्था छ । बैंकको ब्याजदरको उतारचढावको आधारमा हाम्रो नाफा प्रभावित हुने अवस्था छ । हाम्रो फण्डलाई स्ट्रङ नेटवर्क कसरी बनउने त्यसमा छलफल गर्न सक्छौं ।

नेपालमा संघसंस्थाहरु यसरी गठन गरेर कार्टेलिङ गर्ने चलन छ । जीवन बीमा संघ फरक हुन्छ कि कार्टेलिङ नै गर्ने हो ?

सिण्डिकेट र कार्टेलिङ कसरी हुन्छ ? हाम्रो नेचर अफ बिजनेश नै फरक हो । बैंकिङको कुरा योभन्दा बढी ब्याजदरमा नजाने भन्ने हुन्छ । हाम्रो प्रोडक्टहरु एक्चुरीले भ्यालुएस गरेपछि बीमा समितिमा पठाउने हो । त्यसपछि बीमा समितिले एक्चुरीले पास गरेपछि पास हुने हो । हामीले सिण्डिकेट गर्नको लागि संस्था खोलेको होइन ।
नयाँ कम्पनीको संख्या थपिएपछि बीमाको बजार र दायरा कत्तिको बढेको देखियो ?

बीमाको व्यवसाय गर्नको लागि पछिल्लो समय १० वटा कम्पनी आए । जीवन बीमा कम्पनीमा प्लेयरहरु बढे । प्लेयरहरुको संख्या बढ्नुमा प्रतिस्पर्धा बढ्यो जसले गर्दा व्यवसाय बढेको छ । बीमा कम्पनीहरु सहरमा मात्र केन्द्रीत थिए । बीमा कम्पनीहरु गाउँमा पनि विस्तार भयो । पछिल्लो आँकडाले पनि २६ प्रतिशतसम्म बीमाको पहुँच पुगेको देखिएको छ । नयाँ प्लेयर आउदा पहुँच पनि बढ्यो व्यवसाय स्वभाविकरुपले बढेको छ ।

जीवन बीमा कम्पनीहरुले कहिले पनि समयमा साधारणसभा नगर्दा हुने हो ? तपाईहरु कहिले सुध्रेर समयमै साधारणसभा गर्नुहुन्छ ?

अरु कम्पनीजस्तो जीवन बीमा कम्पनीको व्यवसाय फरक छ । हामीलाई के अनुभूति छ भने करको रिर्टन पुस मसान्तभित्र फाइल गर्नुपर्छ । अडिट ऐन अनुसार ५ महिनाभित्र सकेर साधारणसभा ६ महिनाभित्र सक्नुपर्ने हो । तर, जीवन बीमा कम्पनीको प्रक्रिया फरक देखिन्छ । हामीले प्रिमियम संकलन गरेको व्यवसायबाट दायित्वको तथ्यांक निकाल्नुपर्छ । त्यो काम अडिटरबाट हुँदैन । यसको लागि एक्चुरी चाहिन्छ । नेपालमा मेरो नोटिसमा भएसम्म एक्चुरी छैन । हामीले भारत पठाउनुपर्छ । एउटा एक्चुरीले एउटा कम्पनीको मात्र भ्यालुएसन गर्नसक्छ ।

त्यसले भ्यालुएसन गरेर दिएपछि त्यसपछि हामीले बीमा समिति स्वीकृतिको लागि पठाउनुपर्छ । बीमा समितिले भारतमा फेरी आफ्नो एक्चुरीको पठाउने गर्छ । उसले पुनः भ्यालुएसन सकेपछि बीमा समितिले स्वीकृति दिएपछि मात्र हामीले साधारणसभा गर्न पाइन्छ । एक्चुरीको भ्यालुएसन बीना जीवन बीमा कम्पनीको वित्तीय रिपोर्ट तयार हुँदैन । त्यो हुँदा हामीले समयमा साधारणसभा गर्न सकेका छैनौं । त्यसको पर्न सक्ने प्रभाव आयकरमा हुँदा वा कम्पनी ऐन अनुसार साधारणसभा नगर्दा लाग्ने पेनाल्टी पनि लागेको छ । संचारमाध्यमबाट पनि लगातार साधारणसभा किन गर्न सकिनस् भन्ने छ ।

नयाँ कम्पनी पनि थपिए त्यो अनुसार बीमा कम्पनीको पूँजीपनि बढ्यो, सेयरधनीले त्यो अनुसार रिर्टन पाएका छैनन् । छिमेकी देशको तुलनामा हाम्रो नम्बर बढी भयो । कम्पनीहरु टिक्न सक्छन् ?

लगानीकर्ताले लाइसेन्स लिँदा नै केही सोचेको हुनुपर्छ । राज्यले लाइसेन्स लियो भन्दैमा पैसा लगानीगर्नेले सोचेको हुन्छ । लगानीकर्ताले व्यवसायको प्रवृत्ति बुझेर लगानी गरेको हुनुपर्छ । अहिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब छ । हामीलाई १०/११ प्रतिशतको रिर्टन दिनुपर्ने छ । जीवन बीमा कम्पनी भनेको इन्भेष्टमेन्ट कम्पनी जस्तो हो । सबै कुरा राम्रो भएपनि नयाँ कम्पनीले चार/पाँच वर्ष लाभांश दिन चुनौती हुन्छ । त्यो बेलासम्म सेयरधनीले त्यो अनुसार लगानी गरेका हुन् ।

छिमेकी मुलक भारत, बंगलादेशको अर्थतन्त्र र हाम्रो अर्थतन्त्रको आधारमा हेर्दा नेपालमा संख्या बढी देखिएको हो । बीमाको पहुँच २२ प्रतिशतमा पुगेको छ । त्यो अनुसार पहुँच बढाउनको लागि अझै व्यवसाय बढाउने सम्भावना छ ।

बीमा समितिले लाइसेन्स क्लोजसँगै मर्जरको पनि नीति ल्याएको छ । अहिले बीमाको पहुँच बढेको छ । अहिले मर्जर तुरुन्त आवश्यक छ भन्ने देखिएको छैन । अहिले मर्जर जीवन बीमाको केसमा छिटो हुन्छ । २/३ वर्ष मर्जर जानुपर्ने हुन्छ ।

निरपेक्ष गरीबीको रेखामुनी रहेका व्यक्तिले बीमा गर्न सक्दैनन् । उनीहरुलाई राज्यले सहयोग गर्नुपर्छ । त्यो भयो भने गरीब व्यक्तिपनि बीमाको पहुँच भित्र आउने छ ।

बीमा ‘अन्डर टेबल’ लेनदेन बढी हुन्छ भन्ने आरोप छ नि ?

बीमामा त्यस्तो खाले लेनदेन हुँदैन । बीमामा कमिसन बीमा समितिले तोके अनुसार हुने छ । पहिलो वर्ष २५ प्रतिशत कमिसन हो । दोस्रो वर्ष त्यही प्रिमियममा १५ प्रतिशत र बाँकी ८ वर्ष ५/५ प्रतिशत दिने ऐनले नै दिएको व्यवस्था हो । पहिलो वर्ष १८ प्रतिशतसम्म थप प्रोत्साहनमा खर्च गर्न सकिने व्यवस्था छ । निर्जीवन बीमा कम्पनीको बारेमा मलाई थाह छैन । जीवन बीमा कम्पनीमा भने त्यस्तो छैन । १८ प्रतिशतभन्दा बढी खर्च गरेमा सेयरधनीको नाफाबाट काट्ने हो । त्यो हुँदा त्यस्तो खाले खर्च हुन्छ भन्ने सम्भावना नै छैन । आन्तरिक लेखापरिक्षण,बाह्य लेखापरिक्षण हुन्छ बीमा समितिले हेरेको छ । २५ प्रतिशत कमिसन तथा १८ प्रोत्साहन नै ठूलो रकम हो । त्यसले नै पुग्छ ।

जीवन बीमा गराउने र हत्या गरेर बीमा दाबी लिनेसम्मको प्रवृति समेत देखियो, यसमा कसको कमजोरी हो ?

नेपालमा बीमाको इतिहासमा दुईवटा घटना घटे । यसमा एकदमै ब्यापकता छ भनेर भन्न मिल्दैन । केही अपराधिक मानसिकता बोकेका व्यक्तिहरुले यस्ता घटना घटाउन सक्छन् । तर,हामी यस्तो सामान्य हो भनेर भन्न मिल्दैन । हामीले यसलाई करेक्सनको पाटोमा लैजानुपर्छ । हामीले बीमा समितिमा छलफल गरेर यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर छलफल गरेका छौ । त्यो इस्युले हामीलाई संवेदनशिल बनाएको छ । यसमा अन्डराइटरको गल्ती भयो कि के भयो हामीले अध्ययन पनि गर्यै । २५ लाख रुपैयाँमा कसैले आफ्नो श्रीमतीलाई बच्चालाई मारेको छ । हामीले बीमाशुल्क आर्जन गर्ने सवालमा मिससेल गर्यै कि भन्नेपनि छ । हामी त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्छ ।

दक्ष कर्मचारीको अभाव तथा बीमाशुल्क आर्जन गर्ने दवावले पनि यस्ता घटना घटेका हुन् ?

केही अपवादको घटना हो । कर्मचारीको अभाव पहिला भएको हो । ९ वटा कम्पनीमा काम गरेका कर्मचारी थप १० वटा नयाँ कम्पनीमा गए । पुराना कर्मचारीले अवसरको खोजीमा जानु नराम्रो पनि होइन । पछिल्लो क्रममा दुईवर्ष अहिले लगभग कर्मचारी टर्नओभर स्थिर छ । केही कर्मचारीले छाड्ने सामान्य कुरा हो । दक्ष कर्मचारीको अभाव जहिलेपनि रहने हुन्छ । यो प्राविधिक क्षेत्र हो । हामीले भविष्यमा पर्न सक्ने जोखिमको सपनाको व्यापार गर्ने हो ।

राष्ट्र बैंकले बैंकासुरेन्स रोकेको ६ महिना भयो, तपाई आफु राष्ट्र बैंकमा काम गरेर आउनु भएको के साच्चिकै क्राइम नै बैंकासुरेन्स राष्ट्र बैंकले गरेको यो गलत निर्णय हो । बैंकासुरेन्स भनेको बीमा कम्पनीहरुको बनेको नेटवर्क हुन्छ त्यो अनुसार बिक्री गर्ने माध्यम हो । बैंक तथा वित्तीय संस्थालाई ट्रस्ट थियो । बैंकहरुलाई एउटा आम्दानी माध्यम पनि बनेको थियो । पछिल्लो समयमा केही व्यक्ति र संस्थाले जबरजस्ती गरे । केहीले ऋण लिन जादा बीमा नगरे ऋण नै नदिने समेत काम गरे । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कमिसन पाउने भए । संचालन जोखिम छाडेर कर्मचारीहरु कमिसनको लोभमा लागे भन्ने कुरा आयो ।

राष्ट्र बैंकल मौद्रिक नीतिबाट रोक्यो । जसले त्यस्तो बद्मासी गरे तिनीहरुलाई कारबाही गर्नुपर्नेमा त्यो व्यवस्था नै हटाउने निर्णयले बीमाको दायरा नै बढाउन समस्या पर्छ । हाम्रो कम्पनीको कुरा गर्ने हो भने २५ करोड त्यसबाट आएको थियो । अब त्यो आउँदैन । त्यही कर्मचारी ऐजेन्ट बनेर केही रकम आउन सक्छ ।

अब सूर्या लाइफको कुरा गरौं । नयाँ आएका कम्पनीले प्रथम बीमा शुल्कमा तपाईहरुलाई जितिसके । अब कसरी अगाडि बढाउने हो ?

बीमा शुल्क बढी आर्जन गर्दैमा कम्पनी ठूलो हुने होइन । त्यो कम्पनीको नाफा हेर्नुपर्यो, क्यास फ्लो हेर्नुपर्यो, रिकभरी हेर्नुपर्यो, प्रिमियमको रिन्यु, कर्मचारीको कस्ट हेर्नुपर्यो । अर्थका सबै रेसियोहरु हेर्नुपर्यो । त्यो भयो भने दीर्घकालिन बिजनेश बढाउने हिसाबले हामी अगाडि बढेका छौं ।

हामीले अन्डरराइटको बिजनेशबाट फाइदा गर्नेभन्दा पनि लगानीबाट फाइदा गर्ने हो । सुर्या लाइफसँग ६ अर्बभन्दा बढीको लगानी छ । त्यो हरेक वर्ष बढ्दै जाने हो । प्रिमियम केहीपनि होइन भनेको होइन । प्रिमियमलाई मात्र हेरेर कम्पनीको मूल्यांकन हुँदैन ।

सूर्या लाइफ तपाईको कार्यकालमा कस्तो प्रगति गर्छ ?

सुर्या लाइफको टर्नओभर म जादा ३२ करोडको थियो । ५६ करोडको प्रिमियम हामीले संकलन गर्यो । त्यसपछि ११२ करोडको गर्न सक्यौ । कर्मचारीले ३ देखि ४ वर्षदेखि बोनस पाएका थिएनन् अहिले ३ देखि ४ महिनाको बोनस पाएका छन् । हामीले सेयरधनीलाई पनि लाभांश दिएका छौं । हामीले दीर्घकालिनरुपमा सेयरधनीलाई फाइदा दिने उद्देश्यले कम्पनीलाई अगाडि बढाएका छौ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स