पुस मसान्तको अन्तिम दुईदिनमा मात्र सरकारले गर्यो ५९ अर्ब राजस्व संकलन, पुसको लक्ष्य पुरा



काठमाडौं । सरकारले पुस महिनाको अन्तिम दुईदिन ५८ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले अन्तिम दिनमा संकलन गरेको राजस्वको कारण पुस महिनाको लागि मात्र निर्धारण गरिएको राजस्वको लक्ष्य पुरा भएको छ । पुस महिनामा मात्र १ खर्ब ३५ अर्ब रुपैयाँको राजस्वको लक्ष्य राखेकोमा १ खर्ब ३७ अर्ब रुपैयाभन्दा बढी राजस्व संकलन भएको छ ।

सरकारले पुस मसान्तको अन्तिम दिन ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस २९ गते कर राजस्व अन्तर्गत २५ अर्ब ५५ करोड रुपैयाँ सरकारी खातामा आएको छ । यस्तै गैर कर राजस्व अन्तर्गत १६ अर्ब ९० करोड रुपैयाँ सरकारी खातामा आएको छ ।

पुस २८ गते १५ अर्ब ८१ करोड रुपैयाँ कर राजस्व अन्तर्गत सरकारी खातामा आएको थियो भने गैर कर राजस्व अन्तर्गत ७१ करोड रुपैयाँ गैर कर राजस्व अन्तर्गत आएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा पहिलो पटक पुस महिना लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

पुस महिनामा १ खर्ब ३५ अर्ब रुपैयाँको राजस्व संकलनको लक्ष्य राखिएकोमा १ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

पुस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएपनि चालु आर्थिक वर्षको ६ महिनासम्म उठाउने लक्ष्य राखिएको राजस्वको ग्याप भने ठूलो नै छ ।

साउनदेखि नै लक्ष्य अनुसार राजस्व संकलन नभएको कारण ग्याप बढेको थियो । पुस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कारण ग्याप केही घटेको छ ।

सरकारलाई यो पटक पुस महिनााको लक्ष्य पुरा गर्न गैर कर राजस्वले सहयोग गरेको छ । पुस महिनामा सरकारी निकायले नै सरकारको केन्द्रीय ट्रेजरीमा ठूलो रकम हालेका थिए । जसको कारण पुस महिनाको राजस्वको लक्ष्य पुरा भएको हो ।

सरकारले पुस महिनामा आएर राजस्वको लक्ष्य पुरा गरेपनि विकास खर्चको स्थितीमा भने खासै सुधार आएको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार १३.७२ प्रतिशतमात्र विकास खर्च भएको छ । यो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले नै विकास खर्च बढाउनको लागि मातहतका निकायलाई निर्देशन दिएका थिए ।


क्लिकमान्डु