मर्जरको बाधक बनेर के चाहँदैछन् सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ?



काठमाडौं । बैंकका अध्यक्ष नै मर्जरका बाधक ? सुन्दा अचम्म लाग्ला । तर यो सत्य हो ।

‘गाउँको मुखिया…’ भन्ने नेपाली उखान पछ्याउने ती व्यक्तिको नाम हो- इच्छाराज तामाङ । उनी सिभिल बैंकका अध्यक्ष हुन् ।

‘हाम्रो बैंकका अध्यक्ष तामाङजीले नै मर्जरमा अबरोध सिर्जना गरिरहनुभएको छ,’ बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘सञ्चालक समितिमा मर्जरका प्रस्तावहरुमाथि छलफल गर्दा उहाँ चुपचाप बस्नुहुन्छ । र, अहिले हतार नगरौं भन्नुहुन्छ ।’

आगामी चैतदेखि राष्ट्र बैंकमा नयाँ गभर्नर आउने र त्यसपछि राष्ट्र बैंकले कस्तो नीति लिने हो भन्दै तामाङले अहिले मर्जरको कुरा नगर्न सञ्चालकहरुलाई दबाब दिने गरेको ती सञ्चालकले बताए ।

‘राष्ट्र बैंकले पनि नियमितरुपमा मर्जरमा के प्रगति भइरहेको छ भन्दै फलोअप गरिरहेको छ, बजारको दबाब पनि उस्तै छ, राम्रो प्रतिफल नपाएका लगानीकर्ता पनि राम्रो संस्था खोजेर मर्जरमा जानुपर्ने पक्षमा छन्,’ अर्का सञ्चालकले भने, ‘अध्यक्षज्यू कानमा तेल हालेर बस्नुभएको छ ?’

किन त्यसो गरे त तामाङले ?

अध्यक्ष बनेर तामाङले सिभिल बैंकमा हालिमुहाली गरिरहेका छन् । यतिसम्म कि कर्मचारी सञ्चय कोषलाई तामाङले सेयर बेच्दा लिएको एडभान्स पेमेन्टबापत लिएको रकम सिभिल मर्चेन्ट बैंकिङले बैंकको खातामा नहाली सीधै सिभिल सहकारीमा जम्मा गरेका थिए । जुन प्रक्रिया नै गलत थियो । यो त एउटा उदाहारण मात्रै हो ।

‘मर्ज भएपछि अध्यक्ष बनेर हालिमुहाली गर्न पाइँदैन भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा छ,’ स्रोतले भन्यो, ‘नयाँ गभर्नरसँग लाइन मिलाएर संस्था जोगाइराख्ने उहाँको दाउ छ ।’
सञ्चालकहरुले विभिन्न बैंकले गरेका प्रस्तावहरुका विषयमा सञ्चालक समितिको बैठकमा पेश गरिरहेका छन् । अब मर्जरमा नगई एक्लै टिक्न सक्ने अवस्था नरहेको उनीहरुको निष्कर्श छ ।

केही बैंकले सिभिलसँग मर्जरको कुरा नगरेका पनि होइनन् । तर अध्यक्ष तामाङले स्वाप यति पाउनुपर्छ, उति पाउनुपर्छ भनेर अडान राख्ने गरेका छन् । र, उनी पहिलो पुस्ताका बलिया बैंकसँग भए मात्रै मर्जरमा जाने बताउँछन् । तर, त्यस्ता बलिया बैंकले सिभिललाई वास्तै गरेका छैनन् ।

व्यवस्थापनको गलत ब्रिफिङ

सिभिल बैंकको व्यवस्थापनले आफ्नो बैंकको प्रफर्मेन्स राम्रै भएको दाबी गर्छ । र, पटकपटक सञ्चालक समितिमा व्यवस्थापनले यस्तै ब्रिफिङ गरिरहेको छ । त्यो दाबी एकातिर ठीकै होला । तर, अहिले सञ्चालनमा रहेका २७ बैंकमध्ये विभिन्न तथ्य र तथ्यांकहरुको हेरेर भन्दा सिभिल २५ देखि २७औं नम्बरमा पर्छ ।

पछिल्ला समाचारहरुमा के कारणले सिभिल २५ देखि २७औं नम्बरमा पर्छ भनेर तथ्यसहित प्रस्तु गर्नेछौं ।

‘आफूले आफैंलाई हेर्दा पक्कै पनि बैंकले प्रगति गरिरहेको छ तर, अन्य प्रतिस्पर्धीहरुसँग दाँजेर हेर्ने हो भने सिभिल बैंकको प्रगति सन्तोष मान्न सक्ने अवस्था छैन,’ ती सञ्चालकले भने, ‘नाफामा विकास बैंकले जित्न थालिसके ।’

बैंकले कस्तो प्रगति गरिरहेको छ भनेर हेर्ने मूख्य सूचक हुन् नाफा र लगानीकर्तालाई दिएको प्रतिफल । सिभिल बैंक स्थापना भएदेखि अहिलेसम्मको लाभांशको इतिहास हेर्यो भने प्रगति थाहा भइहाल्छ ।

तर, सिभिल बैंकको एउटा स्ट्रेथ पूँजी पर्याप्तता अनुपात । व्यवसाय गर्न नसकेका कारण यो सूचक अरु बैंकको भन्दा सिभिल बैंकको बलियो भएको हो । जसको कारण अन्य बैंकहरुले सिभिललाई आँखा लगाएका छन् ।

बलियो दाबी गर्ने व्यवस्थापन प्रश्न छ, समकालीन मेगा बैंकले पुँजी, व्यवसाय र नाफाको आकार ठूलो बनाउँदा सिभिलले किन मेगालाई भेट्न वा उछिन्न सकेन ? किन जनता र सेञ्चुरीजत्तिको पनि भएन ?

यसको एउटै जवाफ हो- किनकि सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ छन् ।

सिभिल कोअपरेटिभ र सिभिल होम्सको व्यवसाय गरिरहेका तामाङको अगुवाईमा खुलेको हो सिभिल बैंक । र, उनकै सोचमा अघि बढिरहेको छ ।

तामाङ अध्यक्ष रहेको सिभिल सहकारी लामो समयदेखि संकटमा चलिरहेको छ । घरजग्गा व्यवसायमा आएको मन्दीसँगै पछिल्लो समय घरजग्गाको व्यवसायमा पनि तामाङले अपेक्षितरुपमा कमाउन सकिरहेका छैनन् ।

तर, यसै समय सिभिल बैंकको चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ पुर्याउँदा शुरुमा त तामाङ उक्त नीति नै उल्ट्याउन लागि परे । त्यसबेला उनी तत्कालिन एमालेका तर्फबाट समानुपातिक सभासद् बनेका थिए । अर्थसमितिमा रहेका तामाङले पूँजीको बृद्धिको एजेण्डालाई अन्तिम समयसम्म रोक्ने प्रयास गरेका थिए ।

राष्ट्र बैंकले खुट्टा कमाएन । अन्तत तामाङले करोडौं रकम ऋण गरेर हकप्रद सेयर किन्नुपर्यो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक संसोधनको क्रममा व्यवसायिक स्वार्थ बाझिने गरेर ऐन संसोधन गर्न क्रियाशिल भए र केहीमा सफल पनि भए ।

सिभिल बैंकले अहिलेसम्म राम्रो प्रतिफल दिन सकेको छैन । जसकारण ऋण काढेर लगानी थपेका तामाङगको नगद प्रवाह झन् कमजोर बन्दै गएको छ ।

चौतर्फी ऋणको दलदलमा भासिएका तामाङले बैंकको केही सेयर बिक्री गरेर ऋणको ब्याज तिरे । सहकारीका केही बचतकर्ताको बचत फिर्ता पनि गरे ।

सहकारीबा बचतकर्ताको बचत फिर्ता गर्न अन्तरसहकारी ऋण लिने प्रयास पनि गरे । तर, अरु सहकारीले पनि खासै पत्याएनन् । र, त्यो प्रयास प्रभावकारी हुन सकेन ।

सम्पत्ति शुद्धिकरणको छानविन

सहकारीका सदस्यहरुले उजुरी गरेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सिभिल सहकारी र इच्छाराज तामाङमाथि अनुसन्धान गरिरहेको छ ।

‘तामाङजीले ठूलै राजनीतिक शक्ति लगाएर हाम्रो अनुसन्धान प्रभावित बनाउन खोज्नुभएको छ,’ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग स्रोतले भन्यो, ‘तर, हामी कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान अघि बढाउँछौं ।’

तामाङको राजनीतिक पहुँच एमालेका ठूला नेतादेखि प्रधानमन्त्री ओलीसम्मै छ । अहिले नेकपाको सरकार थिएन भने तामाङ कहाँ हुन्थे सबैले अनुमान गर्न सक्छन् ।

सिभिललाई मर्जरमा लगेरै छाड्छौंः राष्ट्र बैंक

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारीहरुले भने सिभिल लगायतका केही बैंकहरु प्रतिस्पर्धी बजारमा टिक्न नसक्ने निष्कर्शमा पुगिसकेका छन् ।

‘हामीले केही समयभित्रै सिभिल लगायतका केही बैंकहरुलाई मर्जरमा लगेरै छाड्छौं,’ नियमन विभागका एक अधिकारीले भने, ‘हामीले धेरै कुरा नदेखे जस्तो गरेर मात्रै हो, देखेर कम्प्लाइन्समा कम्प्रमाइज नगरेका दिन केही बैंक रहँदैनन् ।’

कानून छल्न जब श्रीमतिसँग मानोपाथी छुट्याए

यसमा दुईवटा उदाहारण हेरौं । पहिलो सांसद बैंकको अध्यक्ष तथा सञ्चालक बन्न नपाउने नियम आएपछि तामाङले बैंकको अध्यक्ष पद छाडेका थिए । पछि सांसदबाट हटे । र, फेरि बैंकको अध्यक्ष भए ।

र, अर्को कुरा एकाघरको कारोबार सम्बन्धी कानूनलाई छल्न तामाङले कानूनीरुपमा आफ्नै श्रीमतिसँग मानोपाथी छुट्याए । यो घटनाले सुशासनको अवस्था कस्तो छ भन्ने छर्लङ्ग पार्छ ।

बैंक कुनै निजी कम्पनी होइन । सिभिल होम्सको विषय भएको भए यतिधेरै चासो राखेर समाचार बनाइरहनु आवश्यक ठानिँदैन थियो होला सायद ।

बैंक भनेको जनताको हो । त्यसैले सर्वसाधारण जनतालाई सूचूचित गराउन पनि आमसञ्चार माध्यमहरुले सत्यतथ्य देखाइदिनै पर्छ । त्यो मिडियाको दायित्व हो ।

सिभिल बैंकमा अर्बौं निक्षेपकर्ताको निक्षेप छ, हजारौं सेयरधनीहरुले कमाउने सपना देखेर सेयरमा लगानी गरेका छन् । मिडियाले उनीहरुको हित हेर्नुपर्छ । सञ्चालक र व्यवस्थापनको हित होइन ।

कुनै एक व्यक्तिको स्वार्थपूर्ण हालिमुहालीले कुनै बैक सार्वजनिक संस्था बिग्रन दिनु हुँदैन भन्ने हो । तसर्थ नियामक निकायले यसबारे गंभीर चासो दिएर आवश्यक निर्णय गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।


पुष्प दुलाल