चिलिमेलाई नयाँ आयोजना दिन विभागको कन्जुस्याई



काठमाडौं । कुनै समय नेपालको सेयर बजारको आकर्षक कम्पनीको रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेका आयोजना सकिने चरणमा पुगे पनि आयोजना हातमा छैनन् ।

चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ४ आयोजनामध्ये ३ आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् ।

त्यसमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । यस्तै सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेका २ आयोजना पनि अन्तिम चरणमा छन् ।

ती २ आयोजनामा माथिल्लो सान्जेन १४.८ मेगावाट क्षमताको हो भने तल्लो सान्जेन ४२.५ मेगावाट क्षमताको हो । यस्तै १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना समेत निर्माण गरिरहेको छ । सो आयोजनामा निर्माण व्यवसायीका कारण समस्या पैदा भएको छ ।

जलविद्युत् आयोजनाको अनुमतिपत्र कौडीको भाऊमा केही व्यापारी तथा व्यवसायीलाई दिइने गरेको भएपनि चिलिमेका सहायक कम्पनीलाई आयोजनाको अनमुतिपत्र दिन कन्जुस्याई गरिएको छ ।

सरकारी स्वामित्वको कम्पनीले लगातार आयोजना बनाउँदा त्यसको सबैभन्दा बढी लाभ नेपाली जनता र खासमा नेपाललाई नै हुनेछ ।

निजी क्षेत्रका प्रवद्र्धकलाई सहज रुपमा जलविद्युत् आयोजनाको अनमुतिपत्र दिने विद्युत् विकास विभागले भने चिलिमे जलविद्युत् कम्पनीलाई अनुमतिपत्र दिन अनेकन उल्झन खडा गरेको बताइन्छ ।

चिलिमे अनुमतिपत्रका लागि आवेदन दिएको लामो समय भएपनि हालसम्म विभागले स्वीकृति दिएको छैन ।

नेपालको विद्युत् विकासमा रोल मोडल कम्पनीको रुपमा स्थापित चिलिमे कम्पनीलाई आयोजनाविहीन बनाउने खेल शुरु भएको भन्दै सरकार र विशेष गरी विद्युत् विकास विभागको आलोचना हुने गरेको छ ।

यद्यपि विभागले भने अध्ययनको प्रक्रियामा रहेको मात्रै बताउने गरेको छ । चिलिमेले विभिन्न ४ आयोजनाको अनुमति मागेको भएपनि २ आयोजनाको मात्रै प्रक्रियामा रहेको छ ।

एउटा सरकारी निकायले अर्को सरकारी कम्पनीलाई नै विभेद गर्न खोजेको भन्दै चिलिमेको वार्षिक साधारणसभामा समेत गुनासो व्यक्त भएको थियो । चिलिमेका सेयरधनीले नयाँ आयोजना दिन सरकारी निकायले नै चासो नदेखाएकोमा आपत्ति जनाएका थिए ।

विभागका अनुसार हाल चिलिमेले मागेकामध्ये २ वटा प्रक्रियामा छन् । आकर्षक र बढी लाभ प्राप्त हुने आयोजना नदिएर विभागले कम नाफा हुने र अलिक बढी अप्ठ्यारो स्थानका आयोजना भिडाउन खोजेको छ ।

चिलिमेलाई विभागले गोरखामा आयोजना स्थल रहेको १०५ मेगावाट क्षमताको बुढीगण्डकी ‘क’ आयोजना दिन लागेको छ । सो आयोजना सान्जेन जलविद्युत् कम्पनी मातहत रहने गरी निर्माण गर्न खोजिएको छ । यस्तै बुढीगण्डकी १३० मेगावाट क्षमताको आयोजना चिलिमे जलविद्युत् कम्पनीमार्फत् निर्माण गर्न खोजिएको छ ।

सो आयोजना पनि गोरखा जिल्लामा नै रहेको छ । कम्पनीले आकर्षक आयोजना माग गरेको भएपनि केही जटिल आयोजना मात्रै दिन खोजेको देखिन्छ ।


क्लिकमान्डु