धितोपत्र बोर्डले लगानीकर्तालाई महिना २ पटक निःशुल्क प्रशिक्षण दिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई पुँजी बजारको विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले यसअघि पनि लगानीकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो ।

बोर्डले सूचना जारी गर्दै सर्वसाधारण लगानीकर्ताहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विषयमा प्रशिक्षण कार्यक्रम हुने जनाएको छ ।

बोर्डले माघ दोस्रो सातादेखि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार निःशुल्क प्रशिक्षण कार्यक्रम चलाउने जनाएको छ ।

बोर्डले गत आर्थिक वर्षमा मात्रै २५० जना बढीलाई तालिम दिएको छ । महिनाको दोस्रो र अन्तिम शुक्रबार १० वटा तालिम दिएको जनाएको छ ।

बोर्डका अनुसार अबको तालिम चालु आर्थिक वर्षको लागि हो । यसको लागि सूचना जारी भएसँगै नाम टिपाउने क्रम शुरु भएको बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए । यो प्रशिक्षण कार्यक्रममा बजार भनेको के हो ? सेयर बजारमा कसरी लगानी गर्ने, लगानीगर्दा के कस्ता विषयमा ध्यान दिने ? क्रेडिट रेटिङ भनेको के हो ? कसरी हुन्छ ? दोस्रो बजारमा कसरी लाग्नेलगायतका विषयमा प्रशिक्षण दिइने केसीको भनाइ छ ।

तालिम लिँदा १ पटकमा ५० देखि ६० जना सहभागी गराइने बोर्डले जनाएको छ । पहिलो चरण सकिएपछि दोस्रो चरणमा पनि तालिम लिन सक्ने उनको भनाइ छ ।

बोर्डले आगामी दिनमा कोर्ष नै डिजाइन गरेर तालिन दिने योजना रहेको बताइएको छ । बोर्डले दिने यो तालिम भने निःशुल्क हो । तालिम साढे २ देखि ३ घण्टाको हुने गरेको बोर्डले जनाएको छ ।


क्लिकमान्डु