बैंकले ऋण नदिँदा सुन्दर यातायातले अर्डर गरेका विद्युतीय बस ल्याउन पाएन



काठमाडौं । विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले थप ५० वटा विद्युतीय बस ल्याउनका लागि बैंकहरुले कर्जा नदिएको गुनासो गरेका छन् ।

हाल ४ वटा विद्युतीय सार्वजनिक सवारी राजधानीका सडकमा सञ्चालन गरिरहेको कम्पनीले थप ५० वटा विद्युतीय बस चीनबाट ल्याउने तयारी गरेको छ । जसमध्ये २५ वटा पहिलो चरणमा ल्याउने तयारी गरेको छ ।

सरकारले विद्युतीय सवारी साधानको संख्या बढाउने नीति लिए पनि सोही अनुसार बैंकहरुले सहयोग नगरेको गुनासो गरे ।

‘५० वटा गाडीका लागि १० करोड रुपैयाँ बुझाइ सकेका छौं, बाँकी रकमका लागि बैंकहरुसँग कर्जा माग गर्दा उहाँहरुले दिन अस्वीकार गर्नु भएको छ,’ उनले भने ।

कर्जा वापत आवश्यक धितो राख्नका लागि समेत आफूहरु तयार रहे पनि बैंकहरुले विद्युतीय बसमा कर्जा दिनका लागि अस्वीकार गरेको उनले बताए ।

‘यस विषयमा हामीले अर्थमन्त्री समक्ष पनि कुरा राख्यौं, उहाँले राष्ट्र बैंकमार्फत् बैंकहरुलाई विद्युतीय सवारीलाई सहज रुपमा कर्जा दिन भन्नु भयो तर कार्यान्वयन भएको छैन,’ उनले भने ।

उनका अनुसार बैंकलाई एउटा बसबाट दैनिक आम्दानी हुने औसत रकम १२ हजार रुपैयाँमध्ये १ हजार कार्यालय सञ्चालन र ३ हजार रुपैयाँ विविध खर्च कटाइ दैनिक ८ हजार रुपैयाँका दरले बैंकको ऋण तिर्छौ भन्दा पनि बैंकहरुले मानेका छैनन् ।

थापाका अनुसार एउटा बसका लागि १ करोड ६२ लाख रुपैयाँ खर्च लाग्छ । जसमध्ये ७ वर्षको किस्तामा कर्जा लिँदा दैनिक ८ हजार रुपैयाँले रकम बुझाउँदा साढे ४ वर्षमा किस्ता सकिन्छ ।

आफू नेपालका सबै जसो बैंकमा गएर कुरा गर्दा समेत कर्जा दिन अस्वीकार गर्दा आफूहरु समस्यामा परेको बताए ।

‘१० करोड रुपैयाँ चीन पठाइसकेका छौं, उताबाट गाडी पठाउने समय आइसक्यो तर बाँकी रकम बुझाउनका लागि कर्जा पाएका छैनौं,’ उनले भने ।

उनका अनुसार पहिलो चरणमा २५ वटा गाडी तयार भइसकेका छन् तर त्यसका लागि भुक्तानी गर्ने पैसाको अभाव भएको छ ।

कम्पनीले नेपालमा विद्युतीय सवारी उत्पादनका लागि समेत तयारी गरिसकेको छ । करिब १० अर्ब रुपैयाँको लगानीमा नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीले लक्ष्य छ ।

यसका लागि ९० प्रतिशत चिनियाँ कम्पनी सेन्जेन बिएके कम्पनीको लगानी रहनेछ भने १० प्रतिशत सुन्दर यातायातको लगानी रहनेछ । कम्पनीले यस विषयमा मंगलबार लगानीबोर्ड समक्ष पत्र पठाइसकेको छ ।


क्लिकमान्डु