ट्राफिक व्यवस्थापनका लागि नाडा प्रतिनिधि र महानगरिय ट्राफिक प्रहरी प्रमुखबीच छलफल




काठमाडौं । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १३ सदस्यीय नाडा प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालसंग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणबारे छलफल गरेको छ ।

उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे । उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरुबारे चर्चा गर्दै चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए ।

छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतदेखि हुँदै आएको सहकार्यबारे चर्चा गर्दै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दै आएको बताए । सोही क्रममा उनले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।

अध्यक्ष दुलालले विशेषगरी ट्राफिक प्रहरीले सडक दुर्घटनालाई सक्दो घटाउन उल्लेख भूमिका निर्वाह गर्न आग्रह गर्दै सडकको अवस्था र राजधानीका पुल सक्दो चाँडो निर्माण गरी ट्राफिक व्यवस्था चुस्त बनाउन पनि अनुरोध गरे ।

उक्त छलफलमा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरुबारे उल्लेख गर्दे त्यसको समाधानका लागि समेत आग्रह गरेका थिए । छलफलको अन्तमा ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफनो साधन विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपर समेत दिने व्यवस्थाका लागि आग्रह गरेका छन् । सोही क्रममा नाडाका पदाधिकारीहरुले ब्लु बुकमा पनि यस्तै व्यवस्था हुन सकेमा ट्राफिक जनचेतना बढाउन सहयोग पुग्ने धारणा राखे ।

उक्त छलफलपछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरे । विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल प्रदान गर्दे आएको नाडाले जानकारी दिएको छ । नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दे आएको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु