अब नेपालमा बसभित्रै पार्टी गर्ने सुविधा, नाच्दै गाउँदै काठमाडौं घुम्न पाइने



काठमाडौं । तपाई पार्टी गर्न कहाँ जानुहुन्छ ? रेष्टुराँ, क्लव, पब, होटल वा अन्यत्र कतै ? अब तपाईको पार्टीलाई अझ बढी रोमाञ्चक बनाउनका लागि पार्टी बस सेवा शुरु हुन लागेको छ ।

पार्टी गर्न रुचाउनेलाई लक्षित गरी नेपालमा पनि फरकशैलीको पार्टी बस सञ्चालनमा आउने भएको हो ।

बसभित्रै म्यूजिक सिस्टम छ, बस्नका लागि सोफा राखिएको छ, आकर्षक ढंगले सजाइएको बारमा मनपर्ने पेय पदार्थको चुस्की लिनु सक्नुहुन्छ । बसभित्र नाच्दै, रमाउँदै, गीत गाउँदै काठमाडौं घुम्न पनि सक्नुहुन्छ ।

बसभित्रै प्रोफेसनल हाइफाइ डीजे म्यूजिक सिस्टम छ, स्मोकिङका लागि छुट्टै क्याबिन छ, पोल डान्सका लागि छुट्टै ठाउँ छ भने मोबाइल चार्ज गर्नका लागि पनि सेवा छ साथै बस पूरै वातानुकुलित हुनेछ ।

बस बालाजुस्थित भाटभटेनीबाट गुड्न शुरु हुनेछ भने विभिन्न ठाउँमा यात्रुलाई लिएर २ घण्टासम्म काठमाडौं सहर चहार्नेछ । जसका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

१ हजार रुपैयाँ तिरिसकेपछि तपाईले बसभित्र प्रवेश पाउनु हुनेछ । साथमा केही कम्प्लिमेन्ट्री दिइने लगानीकर्ता भोजेन्द्र सुवेदीले जानकारी दिए ।

त्यस्तै, तपाईले बसलाई विवाहको पार्टी, जन्ती जानका लागि, बर्थडे पार्टीलगायतका पार्टीका लागि समेत बुक गर्न सक्नुहुन्छ । जसका लागि कम्पनीले निश्चित शुल्क तोकेको छ ।

कम्पनीका अनुसार प्रतिघण्टाका लागि १० हजार रुपैयाँ तोकिएको छ । यदी तपाईले तीन घण्टाका लागि बुक गर्न चाहनुहुन्छ भने ३५ हजार रुपैयाँ लाग्छ । त्यस्तै, ६ घण्टाका लागि ५५ हजार रुपैयाँ लाग्छ । १२ घण्टाका लागि ८५ हजार रुपैयाँ लाग्छ ।

यदि तपाई काठमाडौंबासी हुनुहुन्न भने कम्पनीले एयरपोर्टमा पिकअप र ड्रप सेवा समेत उपलब्ध गराएको छ ।

पार्टी बस सेवाले स्पेसल थिममा समेत पार्टी आयोजना गर्नेछ । जस्तै, हलोविन पार्टी, क्रिसमस पार्टी, फ्राइडे नाइट पार्टी, गल्र्स नाइट र न्यू इयर जस्ता विशेष थिममा पार्टी आयोजना गर्नेछ ।

गैर आवासीय नेपालीहरुको लगानीमा शुरु हुन लागेको पार्टी बस सेवा दक्षिण एसियामै पहिलो भएकोसुवेदीले क्लिकमाण्डूलाई बताए ।

जापान र यूरोपका सहरमा पार्टी बसको सेवा देखेका उनीहरुले नेपालमा यो सेवा ल्याएका हुन् । झण्डै १ वर्ष अघिदेखि पार्टी बस सेवा शुरु गर्ने योजना बनाएका उनीहरुले अब सञ्चालनमा ल्याउन लागेका हुन् ।

भारतमा निर्माण गरी हाल २ वटा बस काठमाडौं ल्याइएको छ । बस सञ्चालनका लागि कम्पनीले अनुमति पाएको छ भने यसलाई हरियो नम्बर प्लेट उपलब्ध गराइएको छ ।

सुवेदीले नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्यसलाई टेवा पुर्याउने उद्देश्यले पार्टी बस सेवा शुरु गर्न लागिएको हो । नेपाली मात्रै होइन, विदेशी नागरिक जो रातिको समयमा काठमाडौं घुम्दै पार्टी गर्न चाहन्छन उनीहरुका लागि पनि लक्षित हुनेछ ।

कम्पनीले आगमी जनवरी १० देखि औपचारिक रुपमा सञ्चालन शुरु गर्ने सुवेदीले जानकारी दिए ।

 


क्लिकमान्डु