अर्थमन्त्री खतिवडाको प्रश्नः सेयर बजार सुस्ताकै हो ? बोर्डको ब्रिफिङः चिन्ता गर्नुपर्ने अवस्था छैन




काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले देशको अर्थतन्त्रका सूचकहरु राम्रो रहेको निष्कर्श निकालेको छ ।

बुधबार दिउँसो अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा अर्थ मन्त्रालयमा बसेको बैठकले यस्तो निष्कर्श निकालेको हो । दिउँसो २ बजेदेखि शुरु भएको थियो ।

अर्थमन्त्री खतिवडा बैठक शुरु भएको झन्डै आधाघन्टा पछि मात्रै आएका थिए । राष्ट्रियसभाको बैठकका कारण अर्थमन्त्री समन्वय समितिको बैठकमा ढिलो आएका हुन् ।

वित्तीय क्षेत्रसँग सम्बन्धीत निकायहरु राष्ट्र बैंक, कम्पनी रजिष्टार, बीमा समिति, धितोपत्र बोर्ड, सहकारी विभागलगायतका निकायका प्रमुख तथा प्रतिनिधिहरुले अर्थमन्त्री खतिवडालाई आआफ्नो क्षेत्रको ब्रिफिङ गरेका थिए ।

‘ब्रिफिङ सुनिसकेपछि अन्तिममा अर्थमन्त्रीज्यूले अर्थतन्त्रका सबै सूचकहरु सन्तोषजनक नै भएको भन्दै खुसी व्यक्त गर्नुभयो,’ स्रोतले भन्यो ।

सबैले अर्थतन्त्रका सूचकहरु राम्रो रहेको ब्रिफिङ गरेका थिए । उनीहरुले बाहिर हल्ला भएजस्तो चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्रीलाई विश्वस्त पार्न खोजे ।

अर्थमन्त्रीको अध्यक्षतामा भएको यो समितिले १/२ महिनाको अन्तरालमा बैठक गरेर देशको अर्थतन्त्र कस्तो छ भनेर समीक्षा गर्ने गर्छ । त्यतिमात्रै होइन, सरकारले बजेटमा ल्याएका नीतिगत व्यवस्थाको कार्यान्वयन अवस्था के छ भनेर सबै क्षेत्रले अर्थमन्त्रीलाई जानकारी गराउँछन् ।

‘अर्थतन्त्र सुस्त भयो भनेर बाहिर ठूलो हल्ला चलेको छ तर तथ्यांकले त्यस्तो देखाउँदैन, अर्थतन्त्रको अवस्था राम्रो छ,’ बैठकमा सहभागीहरुले अर्थमन्त्रीलाई ब्रिफिङ गरे ।

अर्थमन्त्री खतिवडाले भ्रमण वर्ष सफल पार्न आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न उपस्थित सबैलाई एकमुष्ट निर्देशन दिए ।

अर्थमन्त्रीले पुँजी बजारको अवस्था के हो ? सुस्ताएको हो कि हैन ? भनेर प्रश्न गरेका थिए ।

अर्थमन्त्रीको प्रश्नमा धितोपत्र बोर्डका निमित्त अध्यक्ष परिष्ठ पौडेलले दैनिक २० करोड रुपैयाँभन्दा बढी कारोबार भइरहेको जानकारी गराउँदै पछिल्लो समय सूचक पनि खासै नघटेको अवगत गराए । र, पुँजी बजारका बारेमा त्यस्तो चिन्ता गरिहाल्नुपर्ने अवस्था नरहेको उनले ब्रिफिङ गर्ने ।

कुनै कुराका कारण अफ्ठ्यारो परेको छ भने त्यसलाई बिचार गरेर अघि बढ्न अर्थमन्त्रीले निर्देश्न दिए । त्यसैगरी, अर्थमन्त्री खतिवडाले डिजिटल पेमेन्ट, मर्जर लगायतका विषयमा पनि चासो राखेका थिए ।

‘राष्ट्र बैंकले लागू गरेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)को विषयमा सैद्दान्तिक छलफल भयो । व्यवहारिक कुरामा पछि छलफल गर्ने भन्ने कुरा भयो’ स्रोतले भन्यो ।

बैठकले अर्थतन्त्रका सूचकहरु सुस्त नभएको निष्कर्श निकालेको एक सहभागीले जानकारी दिए ।

‘ब्रिफिङ सुनिसकेपछि अन्तिममा अर्थमन्त्रीज्यूले अर्थतन्त्रका सबै सूचकहरु सन्तोषजनक नै भएको भन्दै खुसी व्यक्त गर्नुभयो,’ स्रोतले भन्यो ।


पुष्प दुलाल