तीन जलविद्युत् आयोजनका लागि ८५ अर्ब लगानी स्वीकृत




काठमाडौं । लगानी बोर्डले विभिन्न ३ वटा जलविद्युत आयोजनाका लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत्, मस्र्याङदी बेसी जलविद्युत् परियोजना र माथिल्लो त्रिशुली ३ बी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो ।

बोर्डले माथिल्लो त्रिशुली १ जलविद्युतका लागि ६५ अर्ब रुपैयाँ, मस्र्याङदी बेसी जलविद्युत् परियोजनाका लागि ११ अर्ब ७७ करोड रुपैयाँ र माथिल्लो त्रिशुली ३ बी जलविद्युतका लागि ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ स्वीकृत गरेको हो ।

त्यस्तै, अरुण ३ जलविद्युत् परियोजनाको छ्याङकुटी–दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठिन छानबिन समितिलाई प्राविधिकसहित थप जनशक्ती उपलब्ध गराइ २ महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुर्नगठन समेत गरेको छ ।

बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश नम्बर ३ को बनेपा र चितवन, सुदुरपश्चिम प्रदेशको गोदावरी-अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश नम्बर १ को उर्लाबारी र प्रदेश नम्बर २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएको छ ।


क्लिकमान्डु