नेशनल इन्स्योरेन्सद्वारा गोताखोर प्रहरीको बीमा



काठमाडौं । सशस्त्र प्रहरीका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई निःशुल्क सामूहिक दुर्घटना बीमा गरिएको छ । उनीहरुको नेशनल इन्स्योरेन्सले गरेको हो ।

उनीहरुको बीमा प्रतिव्यक्ति २ लाख रुपैयाँ बराबरको गरिएको छ । इन्स्योरेन्सका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा र इन्स्योरेन्स नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण रुपमा रहेको विपद् व्यवस्थापनको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आएको बताए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुले जस्तोसुकै विपद् र अप्ठेरो परिस्थितीहरुमा समेत विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आईरहेको बताए ।

उनले चुनौतीपूर्ण कार्यमा खटिईने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनले विभिन्न कल्याणकारी प्याकेजहरुद्वारा सुविधा प्रदान गरिरहेको तथा थप सुविधा प्रदान गर्ने तर्फ संगठन योजनाबद्ध रुपमा लागि रहेको बताए ।

यसैवर्षदेखि संगठनले नेपालमै गोताखोर तालिम समेत संचालन गरी थप १९ जना व्यवसायिक गोताखोर उत्पादन गरेर कार्यक्षेत्रमा परिचालन गरिसकेको छ ।

कार्यक्रममा इन्स्योरेन्सका सीइओ कौशलले सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको बीमा गर्न पाउँदा गर्व महशुस भएको बताए ।

इन्स्योरेन्स कम्पनीले ४६ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा पोलीसी प्रदान गरेको हो ।

कार्यक्रममा सिइओ कौशलले सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीलाई गोताखोर तालिम प्राप्त ३८ जनालाई निःशुल्क बीमा पोलिसीको प्रमाणपत्र हस्तान्तरण गरे ।


क्लिकमान्डु