फोन नम्बर सोध्न अब १९७ मा फोन गर्नु नपर्ने



काठमाडौं । कुनै पनि संघ संस्थाको फोन नम्बर सोध्न अब १९७ मा फोन गर्नु नपर्ने भएको छ ।

फोन गरिरहनु पर्ने झन्झटिलो व्यवस्थालाई सहज बनाउन नेपाल टेलिकमले आफ्नो वेबसाइडमै  विभिन्न व्यक्ति तथा संघ संस्थाका टेलिफोन नम्बर राख्ने भएको छ ।

कसैलाई कसैको फोन नम्बर चाहिएमा अब नेपाल टेलिकमको वेबसाइडमा गएर सर्च गर्नुपर्नेछ ।

टेलिकमको वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याएको छ। टेलिकमको वेबसाइट https://www.ntc.net.np/pstn  लग इन गरी आफूलाई चाहिएको फोन नम्बर खोज्न सकिनेछ ।

वेबसाइडमा व्यक्तिगत फोन नम्बरहरु पनि उपलब्ध हुनेछन् । तर, त्यसका लागि व्यक्तिको नाम, ठेगाना र जिल्ला लेखेर सर्च गर्नुपर्ने हुन्छ ।

संस्थागत ग्राहकको पनि कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

तर, टेलिकमले १९७ मा फोन गरेर सोध्न सकिने व्यवस्थालाई भने खारेज गरेको छैन । तपाईंलाई जे इच्छा लाग्छ त्यही गर्न सक्नुहुने भएको छ । अर्थात् १९७ मा फोन गरेर वा वेबसाइडमा गएर सर्च गरेर तपाईंले आफूलाई चाहिएको फोन नम्बर प्राप्त गर्न सक्नुहुने छ ।

ग्राहकको सेवालाई मध्य नजर गर्दै फोन नम्बर प्राप्त गर्नका लागि अझ सहज बनाइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

‘हामीले हााम्रो सेवा सरलीकरण गर्दै फोन नम्बर पत्ता लगाउन १९७ मै फोन गरेर सोध्नुपर्ने व्यवस्थाको अन्त्य गरेका हौं,’ बैद्यले भनिन्, ‘बवेबसाइडमा गएर सर्च गरेर पनि तपाईंले आफूलाई चाहिएको फोन नम्बर पत्ता लगाउन सक्नुहुने छ ।’

टेलिकमले महिना दिन अघिदेखि यस्तो सुविधा उपलब्ध गराउँदै आएको उनले बताइन् ।


पुष्प दुलाल