अर्थमन्त्री खतिवडालाई झड्का, लक्ष्यभन्दा निकै कम राजश्व संकलन
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा राजश्व संकलन ३.५६ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्रालयका अनुसार प्रथम चौमासमा राजश्व संकलनको लक्ष्य ३ खर्ब ३० अर्ब ५३ करोड १८ लाख रुपैयाँ रहेको थियो । अहिलेसम्म २ खर्ब ६५ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ ।
विभिन्न ६ वटा मन्त्रालयलले प्रथम चौमासमा थप बजेट निकासा गर्न माग गरेका छन् । अर्थ मन्त्रालयका अनुसार ७ अर्ब ७० करोड ६४ लाख रुपैयाँ माग गरेका छन् । माग भएकोमा २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ निकासा समेत गरेको अर्थले जनाएको छ ।
जसमा गृह मन्त्रालयले २६ करोड ३२ लाख रुपैयाँ ११ करोड ४८ लाख रुपैयाँ निकासा गरेको छ । गृहले मंसिर १४ गते भएको प्रतिनिधि सभा, प्रदेश सभा र स्थानिय तहको रिक्त पदको उपनिर्वाचन सुरक्षा व्यवस्थापन गर्नको लागि माग गरेको थियो ।
उपनिर्वाचनको लागि सञ्चालन तथा व्यवस्थापनको लागि निर्वाचन आयोगले ३९ करोडल रुपैयाँ माग गरेकोमा २५ करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरेको छ ।
यस्तै परराष्ट्र मन्त्रालयले इजरायली दूतावासमा कार्यरत अफिस सेक्रेटरी इजरायली नागरिक ओदेद मसिहाकलाई क्षतिपूर्ति दिन २८ लाख माग भएको थियो । माग बमोजिम नै निकासा भएको छ ।
यस्तै अक्टोबर ९, १० मा नेदरल्याण्ड आइन्डहोबेनमा आयोजना हुने एमएपी एक्सपो २०१९ र २०२० फेब्रुअरी १४–१७ मा जर्मनीको न्यूरेम्बर्गमा आयोजना हुने बायोफ्याक २०२० मा स्टल राख्न ८३ लाख रुपैयाँ माग भएको थियो । माग बमोजिम नै निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले झापाको महारानी झोडा, लखनपुर, सतासीधाम, तोपगाछी क्षेत्रको जग्गा दर्ता समिति २०७५ का लागि १५ लाख माग भएकोमा १२ लाख रुपैयाँ विनियोजन भएको छ । २०७५ मंसिर २६ गतेको मन्त्रिपरिषदको निर्णयले उक्त समिति बनाउने निर्णय गरेको थियो ।
यस्तै सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको लागि ६३ लाख रुपैयाँ माग भएको थियो । जसमा ४८ लाख रुपैयाँ निकासा भएको छ । २०७६ असार ६ गतेको मन्त्रिपरिषदको निर्णयले उक्त आयोग गठन गर्ने निर्णय गरेको थियो ।
यता रक्षा मन्त्रायले पनि ११ करोड ४० लाख रुपैयाँ माग गरेकोमा ३ करोड १६ लाख रुपैयाँ निकासा भएको छ ।
रक्षाले प्रतिनिधि प्रदेश सभा र स्थानीय थहको रिक्त पदको उपनिर्वाचन सुरक्षा व्यवस्थापनको लागि उक्त बजेट माग भएको थियो ।
यता युवा तथा खेलकुद मन्त्रालयले तेह्रौ दक्षिण एशियाली खेलकुद आयोजना सञ्चालनका लागि खेल पूर्वाधार निर्माणको लागि १ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ माग गरेकोमा १ अर्ब रुपैयाँ निकास गरेको छ ।
यस्तै सोही मन्त्रालयले तेह्रो दक्षिण एशियाली खेलकुद आयोजना सञ्चालनका लागि ५ अर्ब २६ करोड ५७ लाख रुपैयाँ माग गरेकोमा ९५ करोड रुपैयाँ अर्थ मन्त्रालयले निकास गरेको जनाएको छ ।