कुखुराको मासुको भाऊ ४०० पुर्याउने ह्याचरी संघको दाउ, करोडौंका चल्ला र अण्डा खाल्डामा हालियो
काठमाडौं । कुनै पनि व्यवसाय नाफा कमाउनका लागि गरिन्छ । तर कुखुरा उत्पादकहरुको संस्था नेपाल ह्याचरी उद्योग संघले भने नाफाको नाममा किसान मार्ने खेल शुरु गरेका छन् । उनीहरुले कुखुराको मासुको भाउ घटेको र आफूहरु मर्कामा परेको भन्दै जिउँदा चल्ला मारेर नाफा गर्न खोजेको जस्तो गरेका छन् ।
विशेगरी पछिल्ला दिनमा नेपाल कुखुराको मासु उत्पादनमा धेरै राम्रो गरिरहेको छ । तर नेपाल ह्याचरी संघले भने सिण्डिकेट कायम गरेर उपभोक्ताको ढाड सेक्ने गरी मासुको भाऊ बढाउन चल्ला नै मारेका छन् । व्यवसायमा लागि भनेर उत्पादन गरिएका ३० लाख चल्ला मारेर संघले किसानको लगानी समेत खाल्डामा पुरेका छन् ।
बजारमा बोइलर र कोइलरको मासुको भाऊ नबढेको दोष लगाएर उनीहरुले पछिल्लो दिनमा गैरकानूनी तरिकाले कुखुराको चल्ला मारेका हुन् ।
जानकारहरुका अनुसार ह्याचरी संघले मारेका चल्लाको मूल्य मात्रै १५ करोड बराबरको रहेको छ । भाऊ नबढेको नाममा किसान मार्ने खेल शुरु हुँदा समेत सरकार भने चुपचाप बसेको छ । मार्क्सबादको व्याख्याता रहेका घनश्याम भुसाल कृषिमन्त्रीका रुपमा कार्यरत छन् । उनैक मन्त्रालयले हेर्ने कुखरा व्यवसायमा देखिएको यो चरम अराजकतालाई नियन्त्रण गर्ने तर्फ सरकारले कुनै पहल गरेको छैन ।
व्यापारीको विषयमा बोल्न नमिल्ने भनेर सरकार पन्छिएको छ । जानकारहरुका अनुसार संघले बजार सुधार गर्ने नाममा आफुखुसी निर्णय गरी किसानको फार्ममा पसेर कुखुराको चल्ला मारेका छन् । संघका पदाधिकारी नै चल्ला मार्न हिडेको देख्ने, जान्ने सुन्नेले बताएका छन् ।
व्यवसायिक लाभको नाममा संघका पदाधिकारी नै चल्ला मार्न लाग्नुले विधिको शासन, न्याय, कानून हराएको अर्थका रुपमा किसानले लिएका छन् । संघले गत मंसिर २९ गतेदेखि यही पुस ९ गतेसम्म चल्ला मार्ने, उत्पादन हुन नदिने, अटेर गरे किसानलाई नै कारवाही गर्नेसम्मको धम्की दिउका छन् ।
पीडित किसानका अनुसार संघका पदाधिकारीले माया लाग्दा चल्लालाई तातो र चिसो पानी खन्याएका छन् । मानवीयता हराएपछि जे पनि गर्न मिल्दो रहेछ भन्ने अवस्था संघले देखाएको छ । त्यतिमात्रै होइन, संघका पदाधिकारीले करिब ५० करोड बराबरको चल्ला निस्कने अण्डा समेत नष्ट गरेर ज्यादती गरेका छन् ।
सरकारले सिण्डिकेट हटाएको दावी गरेको छ । तर नेपाल ह्याचरी संघले सिण्डिकेट कायम गर्न चल्ला र अण्डा नै नष्ट गरेर प्रष्ट भइसक्दा समेत कुनै कारवाही गर्ने तर्फ सरकारले पहल गरेको छैन ।
ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलले खुला रुपमा नै सिण्डिकेट कायम गर्ने लक्ष्यका साथ चल्ला नष्ट गरिएको आशयको भनाइ सार्वजनिक गरेका छन् । उनले मासुको भाऊ बढाउन त्यस्तो गरिएको सार्वजनिक रुपमा नै बताएका छन् ।
यस आधारमा उनलाई कारवाही गर्न सकिने अवस्था भएपनि सरकारले कुनै कारवाही नगरेकोमा किसनाले गुनासो गरेका छन् । भरतपुरका एक कुखुरा पालक किसान देवेन्द्र श्रेष्ठले त आफूहरुको लगानी नै धरापमा पार्ने उद्देश्यले ह्यचारीवालाले ज्यादती गरेको गुनासो गरेका छन् ।
जानकारहरुका अनुसार कुखुराको मासुको भाऊ प्रतिकिलो ४०० रुपैयाँ पुर्याउने लक्ष्यका साथ चल्ला र अण्डा नष्ट गरिएको छ ।