उर्जामा ५ अर्ब विदेशी लगानीको प्रतिवद्धता



काठमाडौं । चालु आर्थिक वर्षमा उर्जा क्षेत्रमा मात्रै झण्डै ५ अर्ब रुपैयाँको विदेशी लगानीको प्रतिवद्धता आएको छ ।

सेयर बजारमा जलविद्युत् कम्पनीहरु कमजोर भइरहेका बेलामा सानो अंश भए पनि २ वटा हाइड्रो प्रोजेक्ट तथा २ वटा सोलार उर्जाका लागि विदेशी लगानीको प्रतिवद्धता आएको हो ।

उद्योग विभागका अनुसार ४ वटा कम्पनीमार्फत् ४ अर्ब ९७ करोड रुपैयाँको विदेशी लगानीको प्रतिवद्धता आएको हो । जसमा यूएई, अमेरिका, बेलायत र भारतबाट एक–एक गरी ४ वटा कम्पनीमार्फत् विदेशी लगानीको प्रतिवद्धता आएको हो ।

जसमध्ये १० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि यूएईबाट ४८ करोड रुपैयाँको लगानी आउने भएको हो । उक्त परियोजनाका लागि कुल ९६ करोड रुपैयाँ खर्च हुन उल्लेख छ । जसमा ५० प्रतिशत विदेशी लगानी र ५० प्रतिशत स्वदेशी लगानी हुनेछ ।

त्यस्तै, सोलार विद्युत् उत्पादनका लागि बेलायतबाट अर्को परियोजनाका लागि ३६ करोड ६६ लाख ५० हजार रुपैयाँ विदेशी लगानी आउने भएको छ । उक्त परियोजनाबाट ५ मेगावाट उर्जा उत्पादन हुनेछ ।

त्यस्तै, ताप्लेजुङमा स्थापना हुने उक्त परियोजनामा अमेरिकाबाट ४ अर्ब रुपैयाँको विदेशी लगानीको प्रतिवद्धता आएको छ । २३ मेगावाट क्षमताको परियोजनामा ९३ प्रतिशत विदेशी लगानी हुनेछ ।

उद्योग विभागका अनुसार कुल ५ अर्ब ८२ करोड ४९ लाख १३ हजार ४३९ रुपैयाँको कुल लागतमा निर्माण हुने अर्को जलविद्युत परियोजना सिन्धुपाल्चोकमा स्थापना हुनेछ । उक्त परियोजनामा भारतबाट ०.९९११ प्रतिशतमात्रै विदेशी लगानी आउने भएको हो ।

३६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाका लागि भारतबाट जम्मा ५ करोड ७७ लाख ३० हजार रुपैयाँ विदेशी लगानी आएको उद्योग विभागले जानकारी दिएको छ ।


पुष्प दुलाल