अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा



काठमाडौं । पछिल्लो समय यात्रु्हरुको सहजताका लागि पनि विभिन्न एपहरु संचालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ । यस्तै एपहरुको भिडमा ट्याक्सीमाण्डु एप सार्वजनिक गरिएको छ ।

‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ संचालनमा ल्याइएको यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले संचालनमा ल्याइएको हो । यो एपको संचालनसँगै अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा बोकेर हिँड्न मिल्ने भएको छ ।

यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।

यसकालागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने संचालकले बताएका छन् । उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका संचालक स्वीटी टि. खत्रीले जानकारी दिए ।

चालक र यात्रु दुवैको सुरक्षा
यो एप सुरक्षाका दृष्टिकोणले एकदमै संवेदनशील रहेको छ । यो एपको प्रयोगबाट ट्याक्सीमा हुन सक्ने सम्भावित अपराधको घटनामा नियन्त्रण गर्न सकिने संचालक स्वीटीले बताइन् । उनले भनिन्, ‘यस एपमा दर्ता हुने ट्याक्सी चालक र यात्रुहरुको नागरिकता, सवारी चालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ । यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गैर कृयाकलापको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुन्छ ।’

ट्याक्सी चालक र यात्रुलाई विशेष सुविधा
ट्याक्सीमाण्डु एपले आफ्नो औपचारिक घोषणासँगै ह्याम्स अस्पताल र इसेवाबीच सम्झौता पनि गरेको छ । जसले ट्याक्सी चालकलाई विभिन्न सेवा उपलब्ध गराउने ट्याक्सीमाण्डु एपका प्रबन्ध निर्देशक अर्जुन केशीले जानकारी दिए ।

उनले भने, ‘हामीले चालकको सेवा सुविधाका लागि ह्याम्स अस्पताल र इसेवासँग पनि सम्झौता गरेका छौं । सम्झौताअनुसार ट्याक्सीमाण्डुमा दर्ता हुने चालकहरुले ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।’ उनले अगाडि थपे, ‘त्यस्तै यो एपको प्रयोग गर्ने चालक र यात्रुले इसेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउनेछन् ।’

त्यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल हालिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरीदिने प्रबन्ध निर्देशक केशीले बताए ।


क्लिकमान्डु