व्यवसायीमा सम्पत्ति शुद्धिकरणको आतंक, गोल्छा भन्छन्- पहिले अभिलेख त्यसपछि कम्प्लाइन्स



काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी नियम कानूनहरु एकैपटक कडाइका साथ कार्यान्वयन गर्दा उद्योगी व्यवसायीहरु आतंकित भएका छन् ।

व्यवसायीहरु अनौपचारिकरुपमा भेट्दा सम्पत्ति शुद्धीकरणले दुःख दिएको बताउँछन् । जसकारण नयाँ उद्योगधन्धा स्थापना गर्न नसकिएको व्यवसायीहरुको गुनासो छ ।

व्यवसायीहरुले आफ्नो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वलाई बारम्बार यस विषयमा बोलिदिन आग्रह गरिरहेका छन् ।

व्यवसायीहरुले लगातार आग्रह गरेपछि महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा कुरा उठाउन थालेका छन् ।

सम्पत्ति शुद्धीकरणका कम्प्लाइन्सहरु एकैसाथ कडाइका साथ कार्यान्वयन गर्नुअघि स्वघोषणा गर्न दिएर सम्पत्तिको अभिलेखिकरण गर्नुपर्ने गोल्छा बताउँछन् ।

बरिष्ठ उपाध्यक्ष गोल्छा आगामी चैतदेखि स्वत महासंघको अध्यक्ष हुन् । व्यवसायिक जगतलाई अफ्ठ्यारो परेको जुनसुकै मुद्दामा आफू निडर भएर लबिङ गर्ने गोल्छा बताउँछन् ।

‘कुनै व्यवसायीले गल्ती गर्यो भने उसलाई कारबाही हुनुपर्छ, गल्ती गर्ने व्यवसायीको पक्षमा महासंघ बोल्दैन तर देशको आर्थिक विकास, समग्र निजी क्षेत्रलाई परेको अफ्ठ्यारोका विषयमा म निर्भकताका साथ लबिङ गर्छु,’ गोल्छाले भने ।

अहिलेसम्म नेपालमा कहिल्यै पनि सम्पत्तिको अभिलेखिकरण गरिएको छैन । बाउ–बाजेले के कति सम्पत्ति कमाए र आफ्नो पुस्तामा हस्तान्तरण गरे भन्ने कुनै अभिलेख काहीँ पनि छैन । जसकारण अहिलेको पुस्ताले आफ्नो सम्पत्तिको स्रोत खोल्न सकिरहेको छैन ।

‘जो जो मान्छेले आफ्नो बाबुबाजेबाट मोटो रकम सम्पत्ति लिएको छ, उनीहरुले बैंकमा जम्मा गर्दा स्रोत खुलाउन सक्दैनन् । र, स्रोत खुलाउन नसकेका कारण सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा कारबाहीमा परिने डरले त्यस्ता मान्छेहरुले बैंकमा पैसा राख्न सकेका छैनन्,’ गोल्छाले क्लिकमाण्डूसँग भने, ‘हाम्रो भनाई के हो भने एकपटक स्वघोषणा गर्न दिएर सम्पत्तिको अभिलेख राखियोस् र त्यसपछि पूर्णरुपमा सम्पत्ति शुद्धीकरणले निगरानी गरोस् ।’

एउटा समय नेपालमा यस्तो पनि थियो कूल बिजलनेशको एउटा निश्चित प्रतिशत रकम तिरेपछि आयकर तिर्नुपर्दैन थियो । तपाईं घाटामा हुनुहुन्छ वा नाफामा हुनुहुन्छ त्यसको केही मत्लब थिएन । कारोबारको निश्चित प्रतिशत रकम तिरेपछि सबै ब्यापार र सम्पत्ति बैधानिक हुन्थ्यो ।

तर अहिले अवस्था फेरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनानिसयल एक्सन टास्क फोर्स (एफएटीएफ)ले सदस्य राष्ट्रहरुमा कडाइका साथ आफ्ना नियमहरु लागू गरेको छ ।

बैंकमा पैसा राख्न जाँदा पहिलो नो योर कस्टुमर फर्म भर्नुपर्छ । र, त्यसपछि सम्पत्तिको स्रोत खोजिन्छ । जसकारण पछिल्ला वर्षहरुमा बैंकमा निक्षेप बढ्न सकेको छैन ।

नयाँ उद्योग खोल्दा कहाँबाट पैसा ल्याएर खोल्यो भनेर समातिने डरले पनि कतिपय व्यवसायीहरु नयाँ उद्योग नखोलिरहेको अवस्था छ । जसको असर अर्थतन्त्रमा समेत देखिएको छ ।

‘सम्पत्ति अभिलेख गर्ने हो भने लुकाएर राखेको धन बैंकिङ च्यानलमा आउँछ, बैंकमा निक्षेप बढ्ने वित्तिकै लगानी योग्य पुँजी (तरलता) अभावको समस्या न्यूनिकरण हुन्छ, बैंकहरु कर्जा दिन सक्षम हुन्छन् । र, अर्थतन्त्र चलायमान हुन्छ ।’ गोल्छा भन्छन् ।
अहिले नै एफएटीएफका सबै मापदण्ड मानेर अघि बढ्दा समस्या उत्पन्न हुने उनको बुझाइ छ ।

‘एफएटीएफले आतंकबाद, मानव बेचबिखन, लागू औषधबाट कमाएको पैसा शुद्धिकरण नहोस् र कानूनीरुपमा आर्जन गरेको सम्पत्ति त्यस्ता गतिविधिमा प्रयोग न होस् भन्ने हो, त्यस्तो पैसा त कहाँ छ र नेपालमा ?’ गोल्छाको प्रश्न छ ।

गोल्छाका अनुसार एफएटीएफको कम्प्लाइन्स हामीले मान्नैपर्छ । तर, माटो सुहाउँदो हाम्रो आवश्यकतालाई हेरेर अघि बढ्नुपर्छ ।

सम्पत्ति स्वघोषणाको माग उद्योगी व्यवसायी तथा विज्ञहरुले वर्षौंदेखि उठाउँदै आएपनि सरकारले उक्त मागको सम्बोधन गर्न सकेको छैन । जसकारण अनौपचारिक च्यानलमा रहेको पुँजी औपचारिक च्यानलमा आउन सकेको छैन ।

‘विश्व व्यापार संगठनको हामी कम्पाइन्स राष्ट्र मात्रै होइन, च्याम्पेन राष्ट्र होइन,’ उनले भने, ‘हामी च्याम्पेन हुँदा देशले के पायो ? उद्योगले के पायो ? जनताले के पाए ? यो कुरा सोच्न जरुरी छ ।’ उनले भने, ‘मलाई के विश्वास छ भने एक पटक सम्पत्तिको अभिलेखिकरण भयो भने त्यसपछि एफएटीएफको कम्प्लाइन्स मान्न सजिलो हुन्छ ।’

पछिल्लो समय उद्योगी व्यवसायी सम्पत्ति शुद्धीकरणसँग बढी डराएको गोल्छा बताउँछन् ।

‘सम्पत्ति शुद्धिकरणका कारण दुख पायौं तपाईहरुले बोलिदिनु पर्यो भनेर उद्योगी व्यवसायी साथीहरुले गुनासो गरिरहनु भएको छ, यो क्रम बढ्दो छ,’ गोल्छाले भने, ‘नयाँ उद्योग खोल्दा कहाँबाट पैसा ल्याएर खोल्यो भनेर समातिने डरले पनि कतिपय व्यवसायीहरु नयाँ उद्योग नखोलिरहेको अवस्था छ । जसको असर अर्थतन्त्रमा समेत देखिएको छ ।’

सम्पत्ति स्वघोषणाको माग उद्योगी व्यवसायी तथा विज्ञहरुले वर्षौंदेखि उठाउँदै आएपनि सरकारले उक्त मागको सम्बोधन गर्न सकेको छैन । जसकारण अनौपचारिक च्यानलमा रहेको पुँजी औपचारिक च्यानलमा आउन सकेको छैन ।

‘यो कुरा सरकारले बुझ्छ भन्नेमा म विश्वस्त छु,’ गोल्छा भन्छन्, ‘सम्पत्तिको अभिलेखिकरण नगरी सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई लागू गर्दा आगामी दिनमा झन् ठूलो समस्या आइपर्ने प्रष्ट छ । भविष्यमा भए पनि सम्पत्तिको अभिलेख गर्नैपर्छ । पछि गर्ने काम अहिले नै गर्दा राम्रो ।’


पुष्प दुलाल