विदेशमा बसेर पिटर र मोरिसको नेपालबाट अर्बौं लुट्ने योजना, नेपालीलाई कमिशन दिएर करोडौं लुटे



काठमाडौं । आजभन्दा ९ वर्षअघि अर्थात् सन् २०१० मा नाइजेरियन नागरिक पिटर हार्मेन एसेन्जा उर्फ काले नेपाल आएका थिए । त्यो बेला उनी के कामका लागि नेपाल आएका थिए भन्ने खुलेको छैन ।

तर, पछिल्ला घटनाक्रमहरुले उनी ठगी गर्ने योजना बुनेर नेपाल आएको प्रष्ट हुन्छ । जब उनै पिटरको योजनामा गत असोज पहिलो साता सरकारी लगानीको कृषि विकास बैंकका कर्मचारीको युजर नेम र पासवर्ड ह्याक गरी करोडौं रकम चोरी भयो ।
पिटरकै योजनामा कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिटबाट १२ लाख रुपैयाँ चोरी भयो । यसरी रकम चोरी भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विदेशी ह्याकरले नेपालीलाई एजेन्ट बनाई लुटे कृषि विकास बैंकको करोडौं, १७ बैंकको प्रयोग

कृषि विकास बैंक लुटपाट प्रकरणमा संलग्न डेढ दर्जन बढीलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । तर, मूख्य नाइके पिटरलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । किनभने नाइजेरियन नागरिक पिटर नाइजेरिया नै बस्छन् ।

पिटरले नेपालमा ठगी गर्नका लागि भारतीय नागरिकलाई प्रयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । त्यसका लागि उनले भारतमा आफ्ना एजेन्ट राखेका छन् ।

पिटरले सन् २०१० मा नेपाल आउँदा दोलखाको फुलपा वडा नं। २ स्थायी घर भएका रमेश खड्काको काठमाडौंको ठमेलमा रहेको रहेको तत्कालीन बुद्ध होटलमा बसेका थिए । त्यसबेलै पिटर र खड्काको चिनापर्ची भएको थियो । र, सोही होटेलका मजदुर नवलपरासी रामग्राम वडा नं.१७ स्थायी घर भएका विशेश्वरप्रसाद तिवारीसँग पनि पिटरको त्यसै सयम चीनजान भएको थियो ।

कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो

प्रहरीले पिटरको योजनामा बैंक लुट्न संलग्न भएको भन्दै बुधबार खड्का, तिवारी र ठमेलस्थित मनि चेञ्जर कम्पनीका सञ्चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

लुटपाटमा स्मिथ मोरिस भनिने बेलायती नागरिक पनि संलग्न भएको प्रहरीले जनाएको छ ।

ठगहरुले हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद कारोबार गरिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उक्त रकम १७ वटा वाणिज्य बैंकमा प्रयोग भएको देखिएको छ ।

उनीहरुले बैंक अफ काठमाण्डू, हिमालयन, प्रभु, सनराइज, सिटिजन्स, नविल, लुम्बीनी, माछापुच्छ्रे, एसबिआई, एनबी, ग्लोबल, एनआइसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सिद्धार्थ र लक्ष्मी बैंकबाट कारोबार गरेका छन् । नेपालमा अनलाइ ठगी बढ्न थालेको बढीमा २ वर्ष भएको प्रहरीको अनुसन्धानले द देखाएको छ ।

पिटरले सामाजिक सञ्जाल (फेसबुक, भाइबर, ह्वाटएप र इमो) लगायतको माध्यमबाट नेपालमा एजेन्ट बनाएका थिए । प्रहरीका अनुसार अहिलेसम्म नेपालमा पिटरको एजेन्ट भएर ठगी गर्ने ४० जनाको पहिचान भइसकेको छ । ठगिएको भन्दै १५ जनाले प्रहरीसमक्ष उजुरी समेत दिइसकेका छन् ।

पिटर बेलाबखत भारतसम्म आउने गर्छन् । प्रहरीका अनुसार पिटरले नेपाली एजेन्टहरुलाई मुम्बइमा बोलाएर मिटिङ समेत गरेका थिए । पिटरले नेपाली एजेन्टहरुलाई लुटिएको रकमको १५ देखि ३५ प्रतिशत रकमसम्म कमिशन दिने बताए ।

सहजै मोटो रकम कमाइ हुने भएपछि नेपाली एजेन्टहरु पिटरको उक्त योजनामा सहमत भए ।

बैंक लुट्ने योजना अनुरुप त्यसबेला नै नविल बैंक, कृषि विकास बैंक लगायतमा पिटरका एजेन्ट अर्थात लुटेराहरुको समूहले चल्ती खाता खोले ।

उच्च सुरक्षाका कारण ह्याकरहरुले नविल बैंक लुट्न सकेनन् । तर, कृषि विकास बैंक भने लुट्न सफल भए । लुटेराहरुबीच इमो र ह्वाटसएपमा भएको कुराकानी अनुसार नेपाली बैंकको ४/५ अर्ब रुपैयाँ सम्म लुट्ने उनीहरुको योजना थियो ।

कृषि विकास बैंक लुट प्रकरणः प्रहरीले ११ जनालाई पक्रियो, २ बजे सार्वजानिक गर्ने

तर, समयमै प्रहरीले सूचना पाएका कारण नेपाली बैंकहरु ठूलो दुर्घटनाबाट बचे ।

प्रहरीका अनुसार तत्कालीन समयमा कृषि विकास बैंक र पानश रेमिट ह्याक गर्ने रणनीति भारत मुम्बइमा बनेको थियो । अहिले पनि सामाजिक सञ्जालको प्रयोग गरेर ठग्ने रणनीति भारतको राजधानी दिल्ली, मुम्बई, पाकिस्तान, चीन तान्जनिया, इथोपिया तथा बेलायतमा बसेर बनेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

अनलाइन मिडियाको प्रयोग गरेर चिठ्ठा परेको, पार्सल आएको भन्दै उनीहरुले ठगी गर्दै आएका छन् ।

प्रहरीका अनुसार नेपाली एजेन्टहरुले मोरिसलाई आफ्नो बैंक खाता उपलब्ध गराए । अनि विदेशमा बसेर सामाजिक सञ्जालमा तपाईंलाई चिठ्ठा पर्यो । त्यसका लागि अहिले यति भुक्तानी गर्नुहोस् भन्दै नेपालका एजेन्टहरुको खाता दिए ।

प्राइज जितेको खुसीमा नेपालीहरुले लुटेराले भनेअनुसार एजेन्टको खातामा रकम जम्मा गरिदिए ।

पिटरले सामाजिक सञ्जालको प्रयोग गरेर कुनै ‘ए’ भन्ने व्यक्तिसँग कुरा गर्छ । लामो समय कुराकानी हुन्छ । कुराकानीपछि पिटरले तपाईलाई चिठ्ठा परेको छ । म तपाईलाई पठाउँछु । त्यसको लागि पिन नम्बर चाहिन्छ भन्दै बैंक खाता नम्बर माग्छ ।

त्यसको लागि इमेलको पनि प्रयोग गरेर किन नहोस् । त्यसबापत लाग्ने शुल्क सीधै पिटरले लिँदैन् । उसले आफ्नो विश्वास पात्रको खातामा पठाउन लगाउँछ । त्यो पैसा विभिन्न माध्यमबाट पिटरकहाँ नै पुगेको देखिन्छ ।

एजेन्टहरुले त कमिशन मात्रै पाउँछन् ।

पिटरले सामाजिक सञ्जालको माध्यमबाट गरेको गठिमा २० हजार पाउन्डको चिठ्ठा परेको र त्यसको पिनका लागि भन्दै पैसा माग्ने गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।

एकै पटक भने पैसा माग्दैन । पहिलो पटक पीनको लागि भन्दै पैसा मागिन्छ । र, दोस्रो पटक त्यो पिन बैंकमा अड्कियो भन्दै पैसा मागिन्छ । बैंकमा पीन कोड अडकियो भनेर पनि सीधै पैसा मागिँदैन । पहिला बैंकमा पीन नम्बर अड्किएको छ । त्यसका लागि बैंकका मान्छेले समेत फोन गर्छन् । बैंकका मान्छेले पहिलो पटकको भन्दा अलि बढी नै माग्छन् ।

मानौ पहिलो पटक १ लाख पठाएको छ भने बैंकले २ लाख मागे ३ लाख लगानी भइसक्छ । त्यो बेलासम्म पनि आफू ठगिएको भन्ने थाहा हुँदैन ।

अब पिटरले पठाएको भनिएको सामान भारतका बाटो हुँदै आएको जानकारी गराइन्छ । त्यसका लागि पनि पैसा नै मागिन्छ । पठाएको सामान भारतको भन्सारमा रोकियो भनेर फेरि फोन गरिन्छ । भन्सार छुटाउनका लागि भन्दै फेरि रकम मागिन्छ ।

त्यसका लागि पनि रकम पठाउँदा पीडितले ५÷६ लाख रुपैयाँ पठाइसकेको हुन्छ । किनभने उसलाई आफू ठगिएको अझै थाहा हुँदैन ।

पहिला बैंक ह्याक गरेको समूहलाई बैंक खाता उपलब्ध गराउनु, त्यही समूहले अनलाइन ठगी पनि गर्नु, उनीहरु कै विभिन्न १७ वटा बैंकमा १४ करोड ६७ लाख ९१ हजार कारोबार हुनु संयोगको मात्रै विषय नभएको प्रहरीको बुझाई छ । त्यो पैसा अनलाइन ठगीको मात्रै हो वा अरु बैंक पनि पीडित छन भन्नेतर्फ प्रहरीको अनुसन्धान अघि बढेको छ ।

अनलाइन ठगिएका १५ जनाबाट ७२ लाखको हाराहारीमा पैसा बाहिर गइसकेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीको अनुसन्धानले कृषि विकास बैंक र पानश रेमिट ह्याक प्रकरणमा संलग्न रहेका लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले लगायतको पनि यसको कनेक्सनमा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

यसको रणनीति भनेको अनलाइ ठगी बैंकिङ ह्याक गर्नको लागि प्रयोग भएको प्रविधिबाट नेपालमा भएको आर्थिक ठगी गर्नको लागि पिटर र स्मिथले नेपालमा आफ्ना सदस्य परिचालन गरेका छन् । नेपालीलाई नै प्रयोग गरेर खाता प्रयोग गरेका छन् ।

कृषि विकास बैंक, पानस त प्रत्यक्ष देखिए । अन्य बैंक तथा वित्तीय संस्थामा पनि कुनै न कुनै रुपमा ठगि भएको हुनसक्ने आशंका बढेको छ ।

यदि कोही कसैलाई यसरी नै कुनै विदेशी नागरिकले तपाईलाई चिठ्ठा परेको छ भनेर प्रलोभन देखाएर पैसामागको छ भने त्यसको प्रलोभनमा परेर पैसा नदिन प्रहरीले आग्रह गरेको छ ।


पुष्प दुलाल