विदेशी ह्याकरले नेपालीलाई एजेन्ट बनाई लुटे कृषि विकास बैंकको करोडौं, १७ बैंकको प्रयोग



काठमाडौं । सरकारी लगानीको कृषि विकास बैंकको सिस्टम ह्याक गरी ह्याकरहरुले करोडौं रकम लुटेका छन् । भारत ताञ्जेनिया, चीन, इथियोपिया र बेलायतमा बसेर भारतीय तथा नाइजेरियन नागरिकले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका हुन् ।

उनीहरुले ४१ जनाभन्दा बढी नेपालीहरुलाई एजेन्ट बनाएर कृषि विकास बैंक र पानस रेमिटबाट लुटेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न ३ जनालाई महानगरीय प्रहरी परिसरले मंगलबार पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ ।

कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो

दोलखाको फुलपा वडा नं. २ स्थायी घर भएका रमेश खड्का, नवलपरासी रामग्राम वडा नं. १७ स्थायी घर भएका विशेश्वरप्रसाद तिवारी र सन्दिप कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

पिटर भनिने नाइजेरियन नागरिक र स्मिथ मोरिस भनिने बेलायती नागरिक उक्त लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । पिटर सन् २०१०मा नेपाल आएको र रमेश खड्काको ठमेलस्थित तत्कालीन बुद्ध होटेलमा बसेका थिए । सोही क्रममा उनीहरुबीच चिनापर्ची भएको थियो । विशेश्वरप्रसाद वुद्ध होटेलका कामदार हुन् ।

बुद्ध होटेल अहिले ठमेल किचनको नाममा सञ्चालन भइरहेको छ । फक्राउ परेका सन्दिप कलवार मनि चेञ्जर कम्पनीका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

लुटिएको करोडौं रकम १७ वटा वाणिज्य बैंकहरुमार्फत कारोबार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लुटेराहरुले बैंक अफ काठमाण्डू, हिमालयन, प्रभु, सनराइज, सिटिजन्स, नविल, लुम्बीनी, माछापुच्छ्रे, एसबिआई, एनबी, ग्लोबल, एनआइसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सिद्धार्थ र लक्ष्मी बैंकबाट कारोबार गरेका छन् ।

कृषि विकास बैंक र पानस रेमिटबाट उक्त रकम लुटिएको हो ।

कृषि विकास बैंक लुट प्रकरणः प्रहरीले ११ जनालाई पक्रियो, २ बजे सार्वजानिक गर्ने

लुटेराहरुले विभिन्न सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाटसप, इमो लगायतमार्फत् चिठ्ठा परेको र पार्सल आएको छ भनेर प्रलोभन देखाई ठगी गरेका हुन् । यी देखि बाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरुसमेत ह्याक भएको हुनसक्ने प्रहरीले अनुमान गरी अनुसन्धान गरिरहेको जनाएकोछ ।

बैंककै कर्मचारीहरुको युजरनेम र पासवर्ड प्रयोग गरी लुटेराहरुले उक्त रकम लुट्न सफल भएका थिए ।

प्रहरीका अनुसार ह्याक र ठगी गरेको रकम नेपालका एजेण्टहरू प्रयोग गरी १५ देखि २० प्रतिशत कमिशन वापत रकम दिई बाँकी रकम विभीन्न माध्यमबाट भारत पठाउने गरेको पाइएको छ ।

नेपाली एजेण्टहरूलाई उक्त कार्य गर्नको लागि विभिन्न बैंकमा खाता खोल्न लगाएको र एउटै एजेण्टबाट ६ वटा भन्दा बढी बैंक खाताबाट कारोवार भएको देखिएको प्रहरीले जनाएको छ ।

नेपालमा उक्त काम गर्नको लागि ४० भन्दा बढी नेपाली एजेण्टहरू परिचालन रहेको र हालसम्म ३४ जना नेपालीहरू अनलाइन फ्रडमा संलग्न रहेको देखिएको छ । साथै, १५ जना अनलाइन फ्रडका पिडितहरू सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।


पुष्प दुलाल