घातक र दुर्घटना बीमाको अधिकतम सीमा तोकियो, १० लाखबढीको बीमा गर्न डाक्टरको सिफारिस अनिवार्य



काठमाडौं । यसअघि बैंकहरुले निःशुल्क बीमा गर्ने भनेर गरेको प्रचारप्रचारमा मन्दी आउने भएको छ । यसका लागि बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गरेको छ ।

बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा एवम् बीमा व्यवसायको प्रचारप्रचार गर्दा एकरुपता कायम हो भनेर बीमा जोखिमाङकन कार्यलाई व्यवस्थित बनाउन उक्त मार्गदर्शन जारी गरेको छ ।

यो मार्गदर्शन कार्यान्वयनमा आएसँगै बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसायको प्रचार–प्रसार गर्दा सम्बन्धित बीमकको नाम उल्लेख गर्न वा बीमकसँगको सहकार्यमा बीमा भएको भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बीमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बीमा प्रिमियम शुल्क ‘संस्था स्वंयले व्यहोर्ने’ भन्ने सूचना दिनुपर्ने छ ।

उक्त मार्गदर्शनमा घातक रोगको बीमांकको अधिकतम १० लाख, दुर्घटना बीमाको अधिकतम १० लाख र औषधोपचार बीमाको अधिकतम १ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै घातक रोगको बीमाङकको हद १० लाख र औषधोपचार बीमा पूरक करारको हद १ लाख रुपैयाँ छ ।

बीमित सदस्यको स्वास्थ्य जाँच गरी प्रत्येक घातक रोगको चिकित्सकको स्वास्थ्य परीक्षण प्रतिवेदन संलग्न राखी बीमकले जोखिमांकन (अन्डरराइटिङ) गरेको हुनुपर्ने व्यवस्था छ ।

समितिले जारी गरेको मार्गदर्शनमा बीमकले उक्त मार्गदर्शनको अधिनमा रही नयाँ बीमालेख जारी गर्दा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बीमालेख जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

मार्गदर्शनमा संस्थाले आफ्ना निक्षेपकर्ता, सदस्य जा ऋणीको औषधोपचार बीमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्दा ग्राहकको पहिचान केवाईसी र स्वास्थ्य सम्बन्धी फारम भर्नुपर्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु