बीमा कम्पनीको ३ खर्ब लगानी, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले २ खर्ब ९६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ विभिन्न शीर्षकमा लगानी गरेका छन् ।

उक्त लगानीमध्ये जीवन बीमा कम्पनीले २ खर्ब ५८ अर्ब २५ करोड २४ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । यस्तै निर्जीवन बीमा कम्पनीहरुले ३८ अर्ब ५ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गरेको छ । कम्पनीले ७७ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ लगानी गरेको बीमा समितिले जनाएको छ । कर्पोरेसनले असोज मसान्तसम्म ४६ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले २७ अर्ब ५१ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थानले २२ अर्ब २ करोड ५४ लाख रुपैयाँ लगानी गरेको समितिले जानकारी दिएको छ ।

सबैभन्दा कम लगानी गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । महालक्ष्मीले यो अवधिमा १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

यता २० वटा निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्म ३८ अर्ब ५ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् । यसरी लगानी गर्नेमा राष्ट्रिय बीमा संस्थान अग्रस्थानमा छ ।

संस्थानले ४ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ भने शिखर इन्स्योरेन्सले ३ अर्ब २ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छ ।

निर्जीवन बीमातर्फ सबैभन्दा कम लगानी गर्नेमा नेशनल इन्स्योरेन्स छ । नेशनलले १ करोड २९ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

यता बीमा समितिले बीमकको ‘लगानी निर्देशिका २०७५’ जारी गरी बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्र निर्धारण समेत गरिसकेको छ ।

समितिले निर्देशिका जारी गर्दै बीमा कम्पनीले घरजग्गा व्यवसायमा, साधारण सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने) र ऋणपत्र, धितोपत्र बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको ऋणपत्रमा लगानी गर्न सहज बनाएको छ ।

यस्तै कृषि, पर्यटन, जलस्रोत, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था गरिसकेको छ ।

समितिले जारी गरेको निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तै, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बीमा कम्पनीले धितोपत्र बोर्डबाट इजाजतप्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्छन् ।

यसले गर्दा बीमा कम्पनीलाई लगानी गर्न सहज भएको छ । तर पनि अझैसम्म बीमा कम्पनीहरुले लगानी गर्नुभन्दा पनि मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खाएर बसेको आरोप लाग्ने गरेको छ ।

त्यो आरोप न्यून गर्न र उत्पादनमुलक क्षेत्रमा लगानी होस् भनेर नै समितिले बीमक लगानी निर्देशिका जारी गरेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले यतिबेला बीमा कम्पनी लगानीको उपयुक्त वातावरण र राम्रो कम्पनी खोजी रहेको बताए ।

‘बीमा क्षेत्रको लगानी भनेको जनताको पैसा हो, त्यसैले जुन पायो त्यही क्षेत्रमा लगानी गर्नु हुँदैन, रिक्स कत्तिको हुन्छ त्यसमा ध्यान दिनुपर्छ’ उनले भने ।

सरकारको ब्याकअप भएको खण्डमा जलविद्युतमा लगानी गर्न सकिने तर निजी क्षेत्रको जलविद्युत कम्पनीमा लगानी गर्न निकै चुनौती रहेको उनको भनाइ छ ।

‘हामी पनि कुन कम्पनीमा लगानी गर्ने हो भनेर प्रोजेक्ट सेलेक्सन गरिरहेका छौं, सरकारको कुनै प्रोजेक्ट राम्रो आयो, पूर्वाधार विकास बैंकले कुनै प्रोजेक्ट ल्यायो भने, त्यसमा लगानी गर्ने सोचमा छौ’ उनले भने ।

उनले सरकारी ऋणपत्र, बिमानस्थल, पर्यटक क्षेत्रमा पनि लगानी गर्नका लागि खोजी कार्य जारी छ रहेको बताए ।

नेपाल लाइफले हाल करिब ६८ प्रतिशत वाणिज्य तथा बिकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको छ । त्यस्तै, करिब १८ प्रतिशत पोलिसी होल्टरलाई ऋण दिएको, २ प्रतिशतको हाराहारीमा ऋणपत्रमा लगानी, सेयर बजार र म्यूचुअल फण्डमा ५.५ प्रतिशतको हाराहारीमा लगानी सीईओ झाको भनाइ छ ।

यस्तै बाँकी लोन एजेन्ट, स्टाफ, कल एकाउन्टमा जाने गरेको उनले बताए । उनका अनुसार ऋणपत्रमा लगानी गर्दा लामो समय पैसा जाम हुने भएर त्यसमा चासो कम भएको हो ।

‘धेरै समयको लागि भएर हामी ऋणपत्रका कमै लगानी गर्छौ,’ झाले भने । पछिल्लो समयमा धेरै बीमा कम्पनीहरुले गर्ने लगानी ऋणपत्रतर्फ बढी छ ।


क्लिकमान्डु