कृषि क्षेत्रमा नेपाली कामदार लैजान जापान इच्छुक, तालिम र भाषा कक्षा छिट्टै सञ्चालन हुने



काठमाडौं । जापान सरकारले नेपालबाट कृषि क्षेत्रमा आवश्यक कामदार लैजान इच्छुक देखिएको छ । त्यसका लागि जापान सरकारले नेपालमा छिट्टै सीप तालिम तथा भाषा कक्षा सञ्चालन गर्ने भएको छ ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र जापानका कृषि, वन तथा मत्यपालनमन्त्री, मन्त्रालयका उप–महानिर्देशक टाकामी नाकाडाबीच भएको वार्तामा सुरुमा नेपालबाट कृषि क्षेत्रमा कामदार लैजाने नाकाडाले जानकारी दिए ।

उनका अनुसार त्यसअघि कामदारलाई त्यससम्बन्धि सीप तालिम र भाषा कक्षा छिट्टै सञ्चालन गरिनेछ ।

उनले कृषि, मत्स्य एवम् फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदारहरु लैजानका लागि सो सम्बन्धि सीप तालिम सञ्चालन गर्ने जानकारी दिए । उनले नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जेआईसीएमार्फत् सहकार्य गर्ने बताए ।

नेपालका लागि जापानी राजदूत सामीची साइगोसमेत सहभागी उक्त भेटघाटमा मन्त्री बिष्टले नेपाल सरकार र जापान सरकारबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे ।

उनले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको बताउँदै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए ।

भेटमा विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।

मन्त्री बिष्टले हाल चलिरहेको नर्सिङ केयर गिभर लिने प्रक्रियालाई चुस्त बनाउन जापान सरकारलाई अनुरोध समेत गरेका थिए ।

राजदूतले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताउँदै नेपाल र जापानबीच भएको श्रम समझदारी अनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने जानकारी दिए ।


क्लिकमान्डु