अनलाइन प्रणालीबाट साढे १६ अर्बको सेयर किनबेच



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १ वर्षअघि उदघाटन गरेको पूर्णस्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) बाट १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो अवधिमा १६ हजार २३४ जनाले सेयर कारोबार गरेका छन् । नेप्सेका अनुसार १ वर्षको अवधिमा १ खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । जसमा यो अवधिमा ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता सेयर कारोबार भएको देखिएको छ ।

१ वर्षको अवधिमा १२ दिनमा सय करोड रुपैयाँभन्दा कारोबार भएको छ भने १ दिन २ सय करोड रुपैयाँभन्दा बढी रकमको सेयर कारोबार भएको छ । एकै दिनमा सबैभन्दा बढी २९ हजार ४९६ कित्ता सम्म सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

अनलाइनबाट मात्रै १ वर्षको अवधिमा संख्यात्मक रुपमा हेर्दा ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता सेयर कारोबार भएको देखिएको छ ।

नेप्सेले सुरु गरेको अनलाइन प्रणालीले गर्दा देश तथा विदेशमा रहेका लगानीकर्ताहरुले सहजै सेयर किनबेचको लागि आदेश दिन सक्ने भएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले अनलाइनको उद्घाटन गरेपछि नेपाल क्लियरिङ हाउसमा आबद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबार सम्बन्धी रकम भुक्तार्न गर्न सक्ने व्यवस्था गरेको नेप्सेले जनाएको छ ।


पुष्प दुलाल