उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित, शेखर गोल्छा अध्यक्ष बन्ने पक्का



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विधान संसोधनका लागि बोलाएको विशेष साधारणसभा स्थगित हुने भएको छ । महासंघको विधान संसोधन समितिको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ ।

महासंघले आगामी कात्तिक २९ गते विधान संसोधनको लागि विशेष साधारणसभा बोलाएको थियो । जसमा अहिलेका बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने प्रावधान हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव लग्न थालिएको थियो ।

तर,विधान संसोधन समितिले साधारणसभा हुनु अगाडि बसेको बैठकले बरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विधानलाई निरन्तरता दिने प्रस्ताव ल्याएको समितिका एक सदस्यले जानकारी दिए । जसले गर्दा विशेष साधारणसभाको कुनै औचित्य नै नदेखिने भयो । बाँकी विषयलाई चैतमा हुने नियमित साधारणसभामा नै पेश गर्ने समितिका सदस्यले जानकारी दिए ।

विधान संसोधन समितिले विशेष साधारणसभा स्थगित गर्नको लागि महासंघको कार्यकारिणीलाई पत्र पठाउने छ । सो अनुसार महासंघको कार्यकारीणी बैठकले विशेष साधारणसभा स्थगित गर्ने छ ।

महासंघको विधान अनुसार नै तीन वर्ष अगाडि प्रत्यक्ष निर्वाचन लडेर शेखर गोल्छा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।


क्लिकमान्डु