यसकारण बढ्न सक्छ एनआइसी एशियाको सेयर मूल्य (प्राविधिक विश्लेषण)



काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्ष अघिल्लो वर्षको भन्दा १२८. ७४ प्रतिशतले वृद्धि गरि ३ अर्व ५ करोड ३३ लाख रुपैयाँ नाफा कमायो । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन । त्यसैले गत असार मसान्तसम्मकै वित्तीय विवरणलाई आधार मानेर विश्लेषण गर्नुपर्ने हुन्छ । यो आलेखमा पनि ०७६ असार मसान्तसम्मको तथ्यांक र त्यसअघिका वर्षहरुको तथ्यांकलाई केलाएर गरेर आगामी दिनमा बैंकको प्रफर्मेन्स कस्तो होला र बैंकको सेयर किन्ने सेयरधनीलाई नाफा/घाटा के हुनसक्छ भनेर विश्लेषण गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष एनआईसी एशियाले १ अर्व ३३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा वृद्धि हुनुको पछाडी खुद ब्याज आम्दानी, फि तथा कमिसनमा क्रमश ६५.३३ र ७८.७९ प्रतिशतले वृद्धि प्रमुख कारण हो । चौथो मसान्तसम्म २६.६७ प्रशिशतले बचत संकलन बढाएको यस बैंकले २३.१२ प्रतिशतले कर्जा लगानी बढाएको हो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ९६ करोड रुपैयाँ छ । १९ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले १२ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ ब्याज खर्च गरेको हो ।

चौथो मसान्तसम्म १ खर्ब ७६ अर्ब ८२ करोड ६ लाख निक्षेप संकलन गरि १ खर्ब ४२ अर्ब ५८ करोड २७ लाख कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेर चुक्ता पूँजी १० प्रतिशतले वृद्धि रहँदा पनि बैंकको प्रतिशेयर आम्दानी बढेको छ ।

चुक्ता पूँजी ८ अर्ब ३ करोड ११ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६२ पैसाबाट ३४ रुपैयाँ ५६ पैसामा बढेको हो । बैंकको जगेडा कोष २ अर्ब ६९ करोड ५६ लाख रहेकोमा ४३.९५ प्रतिशतले बढेर हाल ३ अर्ब ८८ करोड ४ पुगेको छ । त्यस्तै रिटेंग अर्निंग पनि १३८.५५ प्रतिशतले बढेर २ अर्व २५ करोड ११ लाख पुगेको छ । गत आव सोहो अवधिमा ९४ करोड ३६ लाख ५४ हजार रुपैंया थियो ।

एनआईसी एशिया बैंकको इम्पेरिमेन्ट चार्ज भने २ गुणाले बढेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज अर्थात् जोखिम व्यवस्थापन कोषमा ३० करोड ४८ लाख ३१ हजारबाट ५९ करोड १ लाख रुपैंया पुगेको छ । गत वर्षको असार मसान्तमा ११.५० प्रतिशत रहेको एनआईसी एशिया बैंकको आधार ब्याजदर ९.४८ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.८४ बाट ६.९७ प्रतिशतमा घटेको छ । बैंकको आफ्नो खराब कर्जा भने ०.४० अनुपात बढेको छ ।

गत आर्थिक वर्षको १२ महिना अवधिमा बैंकमा ०.०६ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्ष चौथो त्रैमासमा बढेर ०।४६ प्रतिशतमा बढेको छ । बैंकको सिसिडी अनुपात ७४.८४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात १२.९६ गुणा रहेको छ । यस्तै पूँजीकोष अनुपात १२.४८ बाट १३.४८ प्रतिशतमा बढेको छ । ब्याज दर स्प्रेड ०.३६ प्रतिशतले घटेर ४.४१ प्रतिशतमा पुगेको छ ।

फ्लोरसिट

एनआईसी एशिया बैंकको फ्लोरसिटबाट हेर्दा खरिदमा ब्रोकर न ४५,३३,१६,५९ तथा विक्रीमा ब्रोकर न ४,४२,५८ तथा ४५ न ब्रोकरबाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ। त्यस्तै बजार मूल्य ४८० तथा २६५ को तहमा १ लाख ३० हजार देखि १ लाख २० हजार कित्ता शेयर कारोबार भएको छ ।

मैनबत्ति आकृति विश्लेषण

साप्ताहिक मैनबत्ति आकृतिले मुलत कम्पनीको खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउँछ । बिहिबार कारोबार बन्द हुँदा माथि पट्टि लामो स्याडो सहितको वियारिस मैनबत्ति बनेको छ । साताको शुरुमा लगानीकर्ताको खरिद तेजी देखिए पनि अन्त्यमा बिक्रीकर्ताको चाप हाबी भएको देखिन्छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्री (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ । गत फेव्रुअरी १८ र सेप्टेम्बर १६ ,२०१९ मा १४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्सले हिडन बुलिस डाईभर्जेनस आकृति बनाएको थियो जसले एनआईसी मूल्य बढ्ने स्पस्ट संकेत गरेको थियो । उक्त बिन्दुबाट हेर्दा २५ रुपैयाँले मूल्य बढ्यो । साताको अन्तिम दिन कारोवार बन्द हुँदा आरएसआई ५५.५० बाट ५३.८२ स्केल आएको छ, जसले झिनो सुधारको संकेत गर्दछ । आरएसआर्ई रेखा ० देखि १०० स्केलभित्र मुभ हुने गर्छ । मुलत साइडवेजरुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा २ वटा रेखा हुन्छन्, जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ । र, यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ । र, यसले शेयरहरु बेच्ने संकेत गर्दछ । एनआईसी एसिया बैङ्कको एमएसीडी र सिग्नल लाईन सेन्ट्रल लाईन भन्दा माथि क्रस हुने अवस्था छ । यदि एमएसीडी र सिग्नल लाईन सेन्ट्रल लाईन तथा हिस्ट्रोग्राम भन्दा माथि बुलिस क्रस भएको अवस्थामा मूल्य अझ बढ्ने छ ।

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोबार बन्द भएसँगै कमोडीटि च्यानल इन्डेस्कले ऋणात्मक २०० को स्केलबाट बढेर ऋणात्मक ३२ को स्केलमा आएको देखाउँछ । यसले लगानीकर्ता खरिदमा इच्छुक रहेको देखाउँछ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलाटिलिटी मापन गर्दछ । बैंकको चार्ट हर्दा मुल्यले मध्ये ब्याण्डलाई छेडेर वियारिश मैनबत्ति आकृतिमा कारोबार बन्द भएको छ । कुनै पनि बोलिंजर ब्याण्ड आकृतिले मध्ये ब्याण्डलाई क्रस गरेको अवस्थामा माथिल्लो ब्याण्डसम्म पुग्ने सम्भावना निकै हुन्छ ।

निस्कर्ष

आक्रामकरुपमा शाखा र कारोबार विस्तार गरिरहेको एनआईसी एशिया बैंकलाई केही समयअघि राष्ट्र बैंकले अनुगमन गरी ठुलो रकम नोक्सानी ब्यवस्था गर्न लगाएता पनि चौथो त्रैमासमा निकै राम्रो वितीय विवरण प्रकासित गर्यो। चुक्ता पूँजी १० प्रतिशतले वृद्धि हुन्छ पनि प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६२ पैसाबाट शतप्रतिशत भन्दा बढीले वृद्धि गरि ३४ रुपैयाँ ५६ पैसा पुर्याउनु सबैभन्दा ठुलो सकारात्मक पक्ष हो ।

एनआइसी एशियाले डिबेन्चर निस्कासन गरि लगानीयोग्य रकम संकलनको रणनीति अख्तियार गरेको छ । यसले कोषको लागत कम हुनुका साथै बढी सुरक्षित रकम उपलब्ध हुन्छ । इम्पेरिमेन्ट चार्ज २ गुणाले वृद्धि हुँदा निस्क्रिय कर्जा ०.०६ बाट ०.४६ प्रतिशत पुगेको छ, यसमा बैंकको व्यवस्थापन कर्जा प्रवाहमा केहि चनाखो हुनु पर्छ ।

केही सातादेखि नेप्से परिसूचक बियरिश मोमेन्टममा रहेको भएतापनि बैंकिंग समूहमा सकारात्मक परिवर्तनको संकेत देखियो । अधिकांस बन्किंग शेयरमा बिक्रिचाप भन्दा खरिद चाप बढेको छ । एनआईसी एशिया बैक मूल्य पनि करिव १ हप्तामा ४७५ बाट ४१८ सम्म पुग्यो ।

साताको अन्त्यतिर केहि सुधार संकेत देखियो । फिबोनचि रित्रेस्मेंटको आधारमा सेप्टेम्बरको न्युन र मे महिनाको उच्च बिन्दुको आधारमा करिव २३ देखि ३८ प्रतिशतको मात्र सुधार भएको छ । साप्ताहिक औषत कारोबार रकममा आएको बृद्विले बजारमा लगानीकर्ताको सहभागिता बढिरहेको संकेत गरेको छ । प्राविधिक सूचकबाट हेर्दा खरिदचाप भन्दा बिक्रीचाप भएकोले बुलिस अवस्थामा रहेको छ । हालको अवस्थामा नजिकको टेवा अङ्क तथा प्रतिरोध अङ्क क्रमशः ३७५ तथा ४५० रहेको छ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणमा हुने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन


पुष्प दुलाल