नविल बैंकका सेयरधनीलाई बम्पर उपहार, ३४ प्रतिशत लाभांशको घोषणा



काठमाडौं । नविल बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज (आइतबार) बसेको ५२२औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ छ ।

सञ्चालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउने छन् ।

बैंकले प्रदान गर्ने नगद लाभांश प्रतिसेयर २२ रुपैयाँ हो । गत वर्षपनि बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी ३४ प्रतिशत लाभांश दिएको थियो ।

गत वर्ष मंसिर १७ गते लाभांशको घोषणा गरेको नविलले यो वर्ष ठीक एक महिना अघि अर्थात कात्तिक १७ गते लाभांशको घोषणा गरेकोछ ।

नविल बैंक सबैभन्दा धेरै नाफा कमाउने निजी क्षेत्रको वाणिज्य बैंक हो । नविल बैंकले गत वर्ष ४ अर्ब २९ करोड नाफा कमाएको थियो । बैंकले सो अवधिमा कमाएको नाफा अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी हो ।


पुष्प दुलाल