निजीकरण नभए एयर इन्डिया बन्द गर्ने भारतीय विमानमन्त्रीको घोषणा



नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा रणनीतिक साझेदार ल्याउने भन्ने विषयमा बहस चलेको लामो समय भइसकेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आशातित प्रगति गर्न नसक्दा यस्तो बहस उठेको थियो ।

निगमले पछिल्लो समय भोगेको दुरुह अवस्था भारत सरकारको स्वामित्वमा रहेको एयर इन्डियाले समेत भोगेको छ । जसका कारण एयर इन्डियालाई निजीकरण गर्नुको विकल्प नरहेको त्यहाँका विमानमन्त्री हरदीपसिंह पूरीले बताएका छन् ।

लामो समयदेखि घाटामा चलिरहेको एयर इन्डियालाई कि त निजीकरण कि त निजीकरण गर्नुको विकल्प नभएको पुरीले बताए । पुरीले भारतीय राज्यसभामा बुधबार जवाफ दिँदै कर्मचारीको हित हुने गरी निजीकरण गर्नुपर्ने बताए ।

अहिले भारत सरकार एयर इन्डिया विमान बिक्रीका लागि बोली लगाउने प्रक्रियाको अन्तिम चरणमा छ । उनले कर्मचारीसँगै विमानलाई निजीकरण गरिने बताए । ‘हामीले केही फैसाल गरेका छौं, बाँकी फैसला जारी गरिनेछ, अहिले बिक्रीका लागि बोलकबोल भइरहेको छ, त्यसपछि मात्रै हामी निर्णय गर्नेछौं’ उनले भने ।

कम्पनीलाई एयर इन्डियाको सुरुवाती कम्पनी टाटा ग्रुपले खरिद गर्ने सम्भावना छ । टाटा एयरका नाममा सुरु भएको एयर इन्डिया सरकारी स्वामित्वमा आएसँगै नाम परिवर्तन गरिएको थियो । लामो समयपछि एक पटक फेरि एयर इन्डियाको स्वामित्व टाटा समूहमा जाने सम्भावना देखिएको छ ।

टाटाले अहिले भिस्तारा एयरलाइन्स सञ्चालन गरिरहेको छ । जसले काठमाडौंसहित आधा दर्जन मात्रै गन्तव्यमा उडान गर्दै आएको छ । एयर इन्डियासँग अहिले १०० भन्दा बढी विमान फिल्ट छन् । टाटा समूहले एयर इन्डियाको स्वामित्व लियो भने भिस्ताराको व्यापारमा समेत सहज हुने विश्लेषकको अनुमान छ ।

कम्पनीमा तलबको समस्या छैन
केही समय अघि सार्वजनिक भएको समाचारमा एयर इन्डिया गहिरो आर्थिक संकटमा रहेको उल्लेख थियो । जसका कारण पाइलटहरुले समेत जागिर छाडिरहेको भन्ने समाचारप्रति टिप्पणी गर्दै पुरीले अहिले कम्पनीमा कुनै समस्या नभएको बताए ।

एयर इन्डिया संकटमा रहँदा कर्मचारीहरुको २५ प्रतिशत रकम बाँकी थियो । तर अहिले त्यो समस्या छैन ।


क्लिकमान्डु