लगानीकर्ता डुबेका बेला एक दर्जन जलविद्युत कम्पनीको आइपीओ आउँदै, कुनको कति ?



काठमाडौं । सेयर बजारमा ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता आईपीओ आउने भएको छ ।
धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीमा अधिकांश जलविद्युत् समूहका छन् । एउटा बीमा कम्पनी र अर्को क्यापिटल कम्पनी रहेको छ ।

पछिल्लो समयमा सूचिकृत रहेको जलविद्युत कम्पनीमा अधिकांशको सेयर मूल्यमा भारी गिरावट आएको छ । जलविद्युतमा लगानीकर्ताहरुले कमाउने भन्दा पनि बढी गुमाएका छन् ।

जलविद्युत कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको यतिबेला मनोबल निकै गिरेको छ । जसका कारण जलविद्युतमा लगानी कम हुन थालेको छ । १४ वटा पाइपलाइनमा रहेका कम्पनीमा १२ वटा जलविद्युत कम्पनी बोर्डको पाइपलाइनमा रहेका छन् ।

पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गतेदेखि नै बोर्डको पाइप लाइनमा छ । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको पनि २०७४ माघ १८ गते बोर्डमा दर्ता भएको थियो ।
स्रोतका अनुसार लगानीकर्ताहरुले जलविद्युत क्षेत्रमा कम चासो देखाउन थालेपछि बोर्डको पाइप लाइनमा लामो समयसम्म बस्ने गरेको छ । यी कम्पनीहरुलाई आवश्यक कागजात पनि माग गरिएको छ ।

लगानीकर्ताले जलविद्युतमा चासो कम देखाउने र आईपीओ पनि बिक्न छोडेपछि कम्पनीहरुले पनि चासो कम नै देखाउन थालेका छन् ।

बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल रि-इन्सोरेन्सले साधारण सेयर ल्याउने तयारीमा छ । नेपाल रि-इन्स्योन्सले १ करोड ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ ।

यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ । विगतको समयभन्दा पछिल्लो समयमा साधारण सेयर आउने क्रम केही घटेको छ ।

सेयर बजारमा आएको गिरावटको कारण आईपीओभन्दा न्यून मूल्यमा दोस्रो बजारमा नै सेयर पाइन थालेको छ । साधारण सेयरमा लगानीगर्न प्रतिकित्ता १०० रुपैयाँ खर्चनु पर्दछ ।


क्लिकमान्डु