प्रयोजन विपरीत सवारी चलाएको भन्दै टुटल र पठाओलाई कारबाही सुरु



काठमाडौं । प्रयोजन विपरीत सवारी चलाएको भन्दै पठाओ र टुटललाई कारबाही सुरु गरिएको छ ।

ट्राफिक प्रहरीले प्रयोजन विपरीत सवारी चलाएको र भाडामा मान्छे बाकेर हिँडेको भन्दै आइतबार १ हजार रुmपैयाँको चिट काटेको हो ।

क्लिकमाण्डूलाई प्राप्त एक चिटमा ट्राफिक प्रहरीले २०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको जरिवाना सम्बन्धि विवरणको १२औं नम्बरको नियम उल्लघंन गरेको भन्दै जरिवाना गरेको हो ।

यातायात व्यवस्था विभागले गत साता निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधान अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने र प्रयोग गरेको पाइए कानून बमोजिम कारबाही गरिने भन्दै सूचना प्रकाशित गरेको थियो ।

केही महिना अघि मात्रै पनि पठाओ र टुटललाई यसै गरी कारबाही गरिएको थियो । त्यसपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि कारबाहीलाई स्थगित गरी सूचारु गरिएको थियो ।

स्टार्ट  अप व्यवसाय भए पनि आवश्यक नियमको अभावमा पठाओ र टुटल जस्ता व्यवसायलाई काम गर्न गाह्रै हुँदै आएको सञ्चालकहरु बताउँछन् ।

उनीरुले यथासक्य छिटो कानूनी प्रबन्ध गरी आफूहरुलाई नियमन गर्न माग गर्दै आएका छन् ।

हाल पठाओ र टुटलमा गरी ७० हजारभन्दा बढी सेयर राइडरहरु जोडिएका छन् । जसले प्रत्येक दिन ५० हजार जनालाई सेवा दिइरहेका छन् भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको दाबी गर्दै आएका छन् ।


क्लिकमान्डु