बैतडीमा पुनः डोजर आतंक, एक जनाको मृत्यु



काठमाडाैं । स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा छन् । मेलौलीको लामालेक-ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।

लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए ।

तीन दिन अघि बैतडीमै सडक निर्माणका क्रममा स्थानीयले अवरोध गरेको भन्दै स्काभेटर चालकले एक महिलालाई बकेटले हिर्काएका थिए । घाइते महिलाको अहिले उपचार भइरहेको छ । उक्त घटना भइसकेपछि सामाजिक सञ्जाल तथा सबै खाले सञ्चालमाध्यममा चर्को विरोध भएपछि चालक पक्राउ परेका थिए ।

स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु