सिमेन्ट कम्पनीबीच उपहार दिने प्रतिस्पर्धा, तिहारमा चाँदीका सिक्का दिन होडबाजी
काठमाडौं । निर्माणको सिजन आउन लागेसँगै सिमेन्ट उत्पादक कम्पनीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । आफ्नो उत्पादन बढाउन ग्राहक आकर्षित गर्न कम्पनीहरुले उपहार योजना ल्याउन थालेका छन् । वितेको एक वर्षदेखि सिमेन्टको बिक्री बढ्न नसकेको बताइरहेका बेला कम्पनीहरुले उपभोक्ता आकर्षित गर्ने प्रतिस्पर्धा शुरु गरेक हुन् ।
यही कात्तिक १ गते शिवम् सिमेन्टले ‘यो तिहार शिवमको साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक विक्री योजना बजारमा ल्यायो ।
यो योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने घोषणा गर्यो ।
शिवम् सिमेन्टले चाँदीको सिक्का उपहार दिने योजना ल्याएको २ दिनपछि मारुती सिमेन्टले पनि ‘चाँदीको झिलिमिली’ नामक योजना ल्यायो ।
यो योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ ।
कात्तिक ३ गते नै अर्घाखाँची सिमेन्टले पनि ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना ल्यायो ।
यो योजना अन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले उसका उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहारस्वरुप प्राप्त गर्नेछन् । यो योजना कात्तिक ९ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।
रमाइलो कुरा त के छ भने ३ वटै सिमेन्टले एउटै प्रकृत्तिको योजना ल्याएका छन् । शिवमले २५ बोरा किन्दा, मारुतीले २१ बोरा किन्दा र अर्घाखाँचीले २० बोरा किन्दा नै चाँदीको उपहार दिने घोषणा गरेका हुन् । कम्पनीहरुले घटाघटमा स्किम ल्याएपछि उपभोक्ताले यसको भरपूर फाइदा उठाउन पाउने भएका छन् ।