भारतमा बन्दैछ नेपालमा चल्ने रेल




काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका लागि खरिद गर्न लागिएको रेल भारतमा निर्माण भइरहेको छ ।

सरकारले ८४ करोड ६५ लाखमा ती रेल सेट खरिद गर्न लागेको हो । रेल सेट आउने बित्तिकै रेल सञ्चालन गर्ने तयारी गरिएको छ ।

दुई सेट रेल खरिदका लागि रेल विभाग र भारतको कोनकान रेलवेज कर्पोरेसन लिमिटेडबीच सम्झौता भएको थियो ।

नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गर्न लागिएको होे । उक्त स्थानमा गुड्ने २ सेट रेलको अहिले भारतमा निर्माण भइरहेको रेल विभागले जनाएको छ ।
रेल सेट निर्माणसँगै रेलमार्ग निर्माणको काम पनि भइरहेको रेल विभागको भनाइ छ ।

गत वर्षाको समयमा बाढीका कारण कमला नदीको तटबन्ध भत्काउँदा झण्डै १०० मिटरमा रेलको लिग बगाएको थियो । भारतीय कम्पनी निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरी नसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्नुपर्नेछ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भएको हो । सरकारले भारत सरकारसँग २ वटा रेल सेट खरिद प्रक्रिया गतवर्ष अघि बढाएको थियो । आगामी पुस महिनाभित्रै रेल सेट नेपाल आइसक्ने छ ।

२ वटा सेटमध्ये पहिले एउटा सेट पुस महिनाभित्रै आइपुग्नेछ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा ५ वटा डिब्बा रहने छ । ती रेलमा १० डिब्बा रहेका छन् ।
त्यसको क्षमता १ हजार २०० सम्म यात्रु बोक्न सक्ने छन् ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निमाण भइसकेको छ । कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।


क्लिकमान्डु