मुलुकको हितलाई ध्यान दिएर सम्झौता गर्न पूर्व प्रमको ओलीलाई सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् ।

छलफलमा सरकारको तर्फबाट उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिइएको थियो । सहभागी नेता एवं विज्ञहरुले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमणलाई ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिएका छन् ।

सुझाव लिएपछि प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रही आएकोले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौं रेलमार्ग निमार्णको लगानीको ढाँचाबारेसमेत छलफल गरिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहान्छौँ ।’

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको बताए । विदेश तथा छिमेक मामिला सम्बन्धि नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्रीले बताए । ‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौं, कुनै अस्पष्टता छैन ।’

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर भएको बताउँदै भ्रमण सफलताको कामना गरे ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली काँगेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा सुझाव दिए । सिको भ्रमण असोज २५ र २६ गते हुँदैछ ।


क्लिकमान्डु