चङ्गा उडाउँदा यी कुरामा ध्यान दिनुहोस्



काठमाडौ । दशैं-तिहार चङगा उडाउने समयको रुपमा पनि चिनिन्छ । बर्षायाम सकिएपछिको रमाइलो समयमा पर्ने दशैं-तिहार जस्ता चाडले थप रौनकता थप्छन् । शिरशिर बताससँगै बच्चादेखि बुढासम्म चङ्गा उडाएर रमाउने चलन छ । अझ बच्चाबच्चीहरु त कहिले स्कुल कहिले विदा होला सकिएला र मज्जाले चङ्गा उडाएर रमाउला भन्ने खुल्दुलीले पिरोलीरहेको हुन्छ ।

चङ्गा उडाउँदा रमाइलो त हुन्छ नै तर केही कुरामा ध्यान दिइएन भने यसले ज्यान समेत लिन सक्छ । चङ्गा उडाउदा अलिकति सावधानी नअपाउदा ज्यान गएका धेरै उदाहरणहरु छन् ।

आफैंले चङ्गा उडाउदा होस् वा बालबच्चाले चङगा उडाउँदा निम्न कुरामा ध्यान दिन अत्यन्तै जरुरी हुन्छ ।

-मानिसहरुको जमघट भएको ठाउँमा चङ्गा नउडाउनुहोस् । यस्तो ठाँउमा चङगा उडाउँदा जमघटमा बसेका मानिसलाई छलफलमा असजिलो हुन्छ । साथै आफैंले पनि खुलेर चङ्गा उडाउँन पाइँदैन ।

-गाडीको भिडभाड हुने ठाउँमा बच्चाहरुले चङ्गा उडाइरहेको पाइन्छ । यसरी बाटोमा चङ्गा उडाउँदा दुर्घटना हुने र ज्यान जानेसम्म खतरा रहन्छ । तीव्र गतिमा आएका गाडीहरु कहिलेकाँही चाहेर पनि भनेको ठाउँमा रोक्न सक्दैनन् । कहिले त अकस्मात ब्रेक लगाउन पर्दा ड्राइभरको होस उड्ने, ब्रेक फेल हुने गरेको र यसले नचाहादा नचाहादै पनि दुर्घटना भएको धेरै उदाहरणहरु छन् ।

-चङ्गा उडाउँदा कहिल्यै पनि एक्लै नउडाउनुहोस् । एक्लै चङ्गा उडाइरहेको बेला अनियन्त्रित भई कतै लड्ने ठोकिने हुनसक्छ ।

-यदि तपाई घरको छतबाट चङ्गा उडाउँदै हुनुहुन्छ भने बलियो र उचाइ भएको बार भएको छतबाट मात्र उडाउनुहोस् । कमजोर अथवा बार नै नभएको छतबाट चङ्गा उडाउँदा माथि हेरेर चङ्गा उडाउँदा छतको छेउमा पुगेर लड्ने डर हुन्छ । घरको छतबाट चङगा उडाउँदा लडेर मृत्यु समेत भएका समाचारहरु तपाइ हामीले सुनेका छौं ।

-विद्युतीय लाइन, रेडियो, टिभिको एन्टिना नभएको ठाउँमा चङगा उडाउनुहोस् ।

-हवाइमैदानको वरपर चङ्गा उडाउँदा निकै सावधानी अपनाउनुहोस् । सकेसम्म हवाइमैदानको कहि किलोमिटर वरीपरि चङ्गा नउडाएको राम्रो मानिन्छ । चङ्गा र हवाइजहाज एक आपसमा ठोकिने डर धेरै हुन्छ । यसरी चङ्गा र हवाइजहाज एक आपसमा ठोकिएको खण्डमा दुर्घटना भई धनजनको क्षति हुन्छ ।

-आवश्यकता भन्दा धेरै हावा चलेको बेला चङ्गा नउडाउनुहोस् । अनियन्त्रित हावा चलेको बेला चङ्गा उडाउँदा विभिन्न घटनाहरु हुने सम्भावना रहन्छ ।

-समथर मैदान वा ठाउँमा उभिएर मात्र चङगा उडाउनुहोस । खाल्डाखुल्डी भएको ठाउँबाट चङ्गा उडाउँदा लडने, हातखुट्टा भाचिने डर हुन्छ ।

-चङगा उडाउदा चङगा उडिरहेको ठाउँमा चरा उडिरहेका छन छैनन ख्याल गर्नुहोस् । चङगामा चरा अल्झिएमा चरा घाइते हुने र मर्ने सम्भावना हुन्छ ।


पुष्प दुलाल