यी हुन् बैंकका अध्यक्षहरुका पनि नेता



काठमाडौं । बैंकका अध्यक्षहरु पनि संगठित भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको संस्था बैंकर्स संघको लविङले मात्रै पार नलागेको निष्कर्श निकाल्दै अध्यक्षहरु पनि संगठित भएका हुन् ।

बैंकका अध्यक्षहरुको संगठन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइसकेको छ । नयाँ गठन भएको संस्थाको नाम ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ रहेको छ ।

एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान परिसंघको अध्यक्ष छन् । त्यसैगरी, उपाध्यक्षमा मेगा बैंकका भोजबहादुर शाह, महासचिवमा जनता बैंकका केशब रायमाझी, कोषाध्यक्षमा एनआइसी एशियाका तुलसीराम अग्रवाल छन् ।

सदस्यहरुमा ग्लोबल आइएमइका चन्द्र ढकाल, प्रभु बैंकका देवीप्रकार भट्टचन, इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे, माछापुच्छ्रे बैंकका बिरेन्द्र महतो, सानिमा बैंकका बिनयकुमार श्रेष्ठ, सिद्दार्थ बैंकका मनोज केडिया र हिमालयन बैंकका मनोजबहादुर श्रेष्ठ रहेका छन् ।

‘सीइओहरुको संगठन बैंकर्स संघले राष्ट्र बैंकमा मात्रै लबिङ गर्न सक्छ, अध्यक्षहरुको संगठनले मन्त्री र प्रधानमन्त्रीसमक्ष पोलिसि लबिङ गर्न सक्छ,’ परिसंघका अध्यक्ष गोल्यानले क्लिकमाण्डूसँग भने, ‘बैंकिङ क्षेत्रका लगानीकर्ताहरुको हकहितका लागि पोलिसि लबिङ गर्ने उद्देश्यले संगठित हुनु परेको हो ।’

पछिल्लो समय बैंकलाई चारैतिरबाट पेल्न थालिएपछि संस्था जन्माउनु परेको अध्यक्षहरु उनले बताए ।

‘उद्योग वाणिज्य महासंघले संगठितरुपमा बैंकका विरुद्ध लबिङ गरेर आफ्ना माग पूरा गरे,’ उनले भने ‘हामी संगठित नहुँदा हाम्रा कुरा कसैले पनि सुनेनन् ।’

समग्र वित्तीय क्षेत्रको विकास र विस्तारका लागि परिसंघले पोलिसी इन्टरभेन्सन, लबिङ र रिसर्चका कामहरु गर्ने उनले जानकारी दिए ।


पुष्प दुलाल