मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेलाई जवाफः मन्त्री यादव



काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागी गतिलो जवाफ दिएको बताएका छन् ।

ललितपुर सानेपाको होटल गार्डेनमा आयोजना भएको सातौँ मेडइन नेपाल एक्पोको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्सो भएको बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । मन्त्री यादवले भने, ‘युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार छ, गरी पनि रहेको छ, गर्ने तपाईहरुले नै हो सरकारले सहजीकरण गर्छ ।

देशमा व्यवसाय गर्ने वाताबरण छैन भन्ने कहिँ कतै सुनिन्छ तर युवाहरुले आफैले केही गर्न सकिन्छ भनेर लाग्नु भएको छ । सरकारले उहाँहरुको आट र हिम्मतलाई सम्मान गर्छ र हौसला दिन्छ । उहाँहरुका केही समस्याहरु छन् भने मन्त्रालयमा बोलाएर पनि छलफल गर्न सकिन्छ ।’

उनले कतिपय युवा उद्यमीहरुले स्वदेशी उत्पादनहरु निर्यात पनि गरिरहनु भएको र निर्यातमा देखिएका समस्या समाधान र सहजीकरण गर्न पनि सरकार तयार रहेको बताए ।

नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीहरुलाई स्पेश उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरेको बताए । ‘युवा उद्यमीहरु प्रशस्त हुनुहुन्छ’, उनले भने ‘आफुले उत्पादन गरेका सामग्रीहरुले सहज बजार पाउन सकेको अवस्था छैन, उद्यमीहरुले उत्पादीत समाग्रीहरुको बजारीकरण गर्न सकोस् र दुईचार पैसा आम्दानी पनि गर्न सकोस् भनेर एक्पोको आयोजना गरेका हौँ ।’

धेरै युवाहरु स्वदेशमा अवसर नपाएको भन्दै विदेशीने मोह बढीरहेको अवस्थामा युवा उद्यमीहरुलाई उद्यम गर्न थप प्रोत्साहन होस् भनेर पनि एक्सपोको आयोजना गरिएको अध्यक्ष पाण्डेको भनाई छ । उनले सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने र सर्टिफिकेट राखेर बिना धितो ऋणलिन पाउने व्यवस्थालाई सहज बनाइदिए धेरै युवाहरु उद्यमी बन्न सक्ने बताए ।

प्रदर्शनी स्थलको व्यवस्था नहुँदा पनि उद्यमीहरुलाई निकै समस्या परेको उनको भनाई थियो । प्रदर्शनी स्थलको पनि ठुलो समस्या छ, विभिन्न ठाउँ चाहारेर प्रदर्शनी गर्नुुपर्ने बाध्यता छ, उनले भने, ‘सरकारले एउटा निश्चित स्थान तोकेर हामीलाई प्रदर्शनी स्थल बनाइदियो भने धेरै सजिलो हुने थियो ।’

अध्यक्ष पाण्डेले नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा नयाँ उद्यम गर्न चाहानेहरुलाई क्यानडाबाट विजनेश एक्पर्टहरु बोलाएर विजिनेश तालिम पनि प्रदान गरिँदै आएको जानकारी दिए । हाल नेपाल युवा उद्यमी मञ्चमा देशभरका ४ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागिता रहेको छ । प्रदर्शनीमा नेपालमा उत्पादीत कपडा, मूर्ती, विभिन्न जडिवुटी, अर्गानिक तरकारी,पश्मिना अचार, मह, लगायत विभिन्न कम्पनीका उत्पादन तथा फुड, बैकिङ गरी १ सय वटा स्टलहरुको सहभागीता रहेको छ । मेला शनिबार सम्म चल्नेछ ।


क्लिकमान्डु