दशैंमा कहाँ घुम्न जाने, कति लाग्छ खर्च ?



काठमाडौं । एउटा भनाइ छ नि, ‘ट्राभल इज अ ग्रेट फम अफ लर्निङ’ अर्थात् भ्रमण सिकाइको महत्वपूर्ण स्रोत हो ।

हो, यही भनाइलाई केही आधार मान्दै त कोही रहरसँगै दशैंको बिदामा घुम्न निस्कनेहरु धेरै हुन्छन् । बर्खायाम र व्यस्त दैनिकीबाट २/४ दिन भए पनि रिफ्रेस हुनका लागि देश तथा विदेश बुझ्न निस्कनेहरु अहिले धेरै हुन्छन् ।

केही वर्षयता दशैं पर्व भ्रमण पर्वमा बदलिएको जस्तो बन्दै गएको छ । दशैं र तिहार जस्ता चाडको बीचमा बिदालाई सदुपयोग गर्दै यही मेसोमा घुम्न निस्कनेहरु कैयन छन् । यतिसम्म कि दशैं मनाउनुभन्दा बढी घुम्न निस्कन रुचाउनेहरु धेरै हुन थालेका छन् ।

केही वर्षअघिसम्म पोखरा, इलाममा आन्तरिक पर्यटकको घुँइचो धेरै हुन्थ्यो । हिमाली जिल्लामा जानेका लागि बाटो सहज थिएन, हवाई मार्ग महंगो पथ्र्यो । तर अहिले हिमालका फेँदसम्मै मोटर गाडी पुग्न थालेपछि त्यहाँसम्म जाने मन भएकालाई हलुका भएको बनिदिएको छ ।

सुर्योदयको पहिलो किरण परेको सुनौलो हिमाललाई ब्याकग्राउण्डमा राखेर फोटो खिच्ने रहर त्यहीसम्म पुगेका मोटरबाटोले सहज बनाइदिएको छ । दशैंमा घुम्न निस्कने यही परम्परामा योजना बुनिरहेका रहर गर्ने यात्रुहरुका लागि हामीले देशमा कुन कुन ठाउँ घुम्न कति समय र खर्च लाग्छ भन्ने सामग्री पस्कँदै छौं ।

१) खप्तड

सुदुरपश्चिमको खप्तड जान काठमाडौबाट सात रात आठ दिनको समय छुट्याउनुपर्छ । काठमाडौंबाट १५ घण्टाको वसयात्रा गरेपछि धनगढी पुगिन्छ ।

धनगढीदेखि डोटी सदरमुकाम सिलगढीसम्म पनि बसमै ८ घण्टाको यात्रा हुन्छ । सिलगढीबाट बखलेकसम्म जीप रिजर्भ गरेर कच्चीबाटोमा यात्रा गर्न सकिन्छ । पैदालयात्रा गर्दा भने सिलगढीबाटै सुरु गर्नुपर्छ ।

हवाईजहाजबाट जाँदा भने धनगढी ओर्लेर सोही दिन सिलगढी पुगेर बास बस्न सकिन्छ । सिलगढीदेखि बखलेखसम्म जीप जाने कच्चि बाटो छ । त्यसका लागि रिर्जभ गर्नुपर्छ ।

सिलगढीदेखि सुरु पैदलयात्राको पहिलो दिन विहानको खाना बगलेखमा खाएर झिगरानमा बेलुकाको बास हुन्छ । दोस्रो दिनको यात्रामै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्जक्षेत्रमा पसेपछि यात्राको सबैभन्दा अप्ठ्यारो ठाडो उकालो सुरु हुन्छ । बिहानको खाना बीचपानीमै खाएर जानु राम्रो हुन्छ ।

त्यहाँबाट अघि बढेपछि खाना खाने ठाउँ पाइन्न । बीचपानीबाट चार घन्टा लाग्छ, निकुञ्जको मुख्यालय पुग्न । ठूला–ठूला चट्टान र घना जंगल र बाटोमा फूलेका रंगीचंगी फूलको बासनाले थकान मेटिन्छ ।

दिनभरको यात्रापछि साँझ त्रिवेणी मन्दिर पुगिन्छ । त्रिवेणी मन्दिरबाट शुरु हुन्छ खप्तडक्षेत्रको सुन्दर दृश्य । खप्तडको त्रिवेणी मन्दिर, हरिया फाँट, थारु संस्कृति, डडेलधुरको उग्रताराम मन्दिर, डोटीको शैलेश्वरी र भागेश्वरी-सालमुनिको यस क्षेत्रका आकर्षण हुन । खप्तड यात्राको लागि काठमाडौंदेखि १० दिनको समय उपयुक्त हुन्छ ।

२) मुक्तिनाथ मन्दिर

जोमसोमै बजारमा १२ बजे हावा सरर… नेपथ्ले गाएको यो गीत नसुन्ने सायदै कोही होलान । यही गीतमा राखिएको जोमसोमै बजारको १२ बजेपछि चल्ने चिसो हावालाई महसुस गर्नका लागि मुक्तिनाथको यात्रा रुचिकर हुन सक्छ ।

धार्मिक आस्थाको केन्द्र बनेको मुस्ताङको मुक्तिनाथ मन्दिर पनि आन्तरिक तथा भारतीय पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । पहिले जस्तो अहिले हवाई मार्गबाट मात्रै जानुपर्छ भन्ने छैन । पोखराबाट बेनी-मार्फा-जोमसोम-कागबेनी हुँदै मुक्तिनाथ पुग्नका लागि सहज बनेको छ ।

मुक्तिनाथ धार्मिक आस्थाले मात्रै होइन, बाटोमा पर्ने मार्फा गाउँका स्याउ, चिसो बतास चल्ने जोमसोमसँगै कालिगण्डकीको मुहान कागबेनी निकै रमाइलो ठाउँ छ । यहाँ पुग्नका लागि विभिन्न कम्पनीहरुले ११ हजार रुपैयाँदेखि प्रिमियम प्याकेजमा १८ हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध गराएका छन् ।

 

३) रारा ताल

रारा सबैभन्दा ठूलो ताल हो । चारै तिर ठूला पहाडले घेरिएको तालमा पुग्दा जो कोहीको पनि ‘आहा’ फुत्किहाल्छ । नेपालगञ्जबाट हवाईमार्गमा ताल्चा एयरपोर्टमा पुग्न पनि सकिन्छ भने सडकमार्गमा २ दिन लगाएर सुर्खेत-दोलखा हुँदै जान सकिन्छ ।

रारा तालबाट २ घण्टा उकालो टे«ेकिङ गरेपछि मुर्मा टप पुगिन्छ । त्यहाँबाट विशाल रारालाई आँखाको एकै सटमा लिन सकिन्छ । रारा ताल छेउमै २ वटा होटल छन् । त्यहाँ नमिले ताल्चा एयरपोर्टमै पनि होटल छन् । एयरपोर्टबाट १ घण्टा तल गमगढीमै पनि बस्न सकिन्छ । यात्रा लामो र महंगो भए पनि बसाइ भने निकै सस्तो छ । सामान्यतयाः प्याकेज बाहेकमै जानेहरुलाई पनि ५ सयदेखि १ हजार रुपैयाँसम्ममा होटलमा कोठा पाइन्छ ।

४) घान्द्रुक

पोखरादेखि हिँडेर पैदल र गाडीमा पनि जान सकिने ठाउँ हो घान्द्रुक । गुरुङ गाउँलाई पर्यटकीय दृष्टिले निर्माण गरिएको यहाँबाट अन्नपूर्ण, धौलागिरी र माछापुछ्रेलगायतका हिमाललाई नजिकबाटै हेर्न पाइन्छ । घान्द्रुक जान पोखराबाट नयाँपुलबाट हिँडेर जाने हो भने ७/८ घण्टामा पुगिन्छ । जहाँ जानका लागि साढे ७ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म खर्चमा यात्रा तय गर्न सकिन्छ ।

५) पुनहिल

दशैं बिदामा एक हप्ता घुम्न जानेहरुका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपूर मनोरञ्जन दिन्छ ।

पुनहिल पदयात्रामा बास बस्न समस्या छैन । पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाईडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाईडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।

पोखराबाट नयाँपुलसम्म सवारीसाधनको सुविधा छ । नयाँपुलबाट सुरु हुन्छ पुनहिल पदयात्रा पोखराबाट नयाँपुलसम्म गाडी र त्यहाँबाट पैदल हिंड्दा हिले पुग्न सकिन्छ । पदयात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ ।

समुद्री सतहबाट २९०० मिटरमा उचाइमा अवस्थित घोडेपानीबाट एकघण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्रीसतहबाट ३ हजार २ सय १० मिटर उचाइको पुनहिलबाट धौलागीरी, अन्नपुर्ण माछापुच्छे, निलगीरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाइन्छ ।

पुनहिलको अर्को विशेषता धौलागिरीमा सुर्योदयको दृश्य हेर्न पाउनु पनि हो । धौलागिरीसहित माछापुच्छ्रे र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरीको थकान भुल्न सकिन्छ । यहाँ जानका लागि ट्राभल कम्पनीहरुले साढे ९ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्मको प्याकेजमा जान सकिन्छ ।

६) हलेसी महादेव 

विशेष गरी धार्मिक पर्यटकका लागि खोटाङ जिल्लामा रहेको हलेसी महादेव बौद्ध धर्मालम्बीहरुको लागि समेत चिर्चित क्षेत्र हो । उक्त क्षेत्रमा जानको लागि हवाई र सडक दुवै प्रयोग गर्न सक्ने छन् ।
खासगरी हवाई मार्गको प्रयोग गर्दा पहिलो दिन काठमाडौ–कटारी, जनकपुर अथावा विराटननगर जुनसुकै स्थानमा पनि जान सकिन्छ । त्यो दिन कटारीका बसेर पहिलो दिन बास बस्नुपर्ने हुन्छ । त्यहाँ जानका लागि ३५ सयदेखि ५ हजार रुपैयाँसम्मको प्याकेजमा जान सकिन्छ ।

७) पाथिभरा

ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दुधर्मालम्बीहरुको प्रसिद्ध तीर्थस्थल हो । विभिन्न स्थानहरुको अवलोकन गर्दै कन्याम चिया बगानमा जाने र सोही क्षेत्रमा बस्न सकिन्छ ।
आधा दिन चिया बगानको अवलोकन गर्ने साथै सो दिन अन्तुडाडाँमा बासोबास गर्ने । अन्तु डाँडाँबाट ६ घन्टाकोे सवारीमा यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ सो दिन सोही स्थानमा बस्ने । ताप्लेजुङ बजार क्षेत्र, पाथीभरा मन्दिर क्षेत्रको दर्शन पछि सो दिन तप्लेजुङमानै बस्न सकिन्छ । यसका लागि १५ हजार रुपैयाँसम्म लाग्छ ।

८) तिलिचो ताल

तिलिचो ताल हिमाली जिल्लामा पर्छ । नेपाली तथा विदेशीहरुका लागि पछिल्लो समय आकर्षक गन्तव्यका रुपमा तिलिचो बनेको छ ।

काठमाडौंबाट बेसिसहरहुँदै कांसारसम्म गाडीमा जाने र त्यहाँबाट ट्रेकिङमा जाने सकिन्छ । काठमाडौंबाट हिँडेको ७ औं दिनसम्ममा तिलिचो पुगेर फर्कन सकिन्छ । यसका लागि २० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म खर्च लाग्ने गरी प्याकेज कम्पनीहरुले बनाएका छन् । आफै जान पनि सकिन्छ तर त्यसका लागि पिक सिजनमा पहिले नै होटल बुक गर्दा राम्रो हुन्छ ।

९) अन्नपूर्ण बेस क्याम्प

ट्रकिङ र एड्भेञ्चर मन पराउनेहरुका लागि अन्नपूर्ण बेस क्याम्प राम्रो विकल्प हो । काठमाडौंबाट पोखरासम्म बसमा जाने र त्यहाँबाट सेवाइसम्म पुगेपछि तेस्रो दिन दोभानसम्म ट्रेकिङमा जान सकिन्छ । त्यस्तै, चौथो दिन माछापुछ्रेसम्मको ट्रेक गरेपछि पाँचौ दिन एमबीसी बेस क्याम्प पुगिन्छ । यो ४१३० मिटर उचाइमा छ ।

स्वदेशी तथा विदेशीहरुले अत्यधिक मन पराएको यो रुटको पदयात्रामा जानका लागि विभिन्न ट्राभल कम्पनीहरुले २० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको प्याकेज बनाएका छन् । यो यात्रामा जानेहरु एबीसीबाट घान्द्रुक हुँदै पोखरा पनि झर्न सक्छन् । ७ देखि १० दिनसम्मको टुर बनाउँदा निकै सहज हुनुका साथै यात्रा रमाइलो पनि हुन्छ ।

१०) मार्दी हिमाल

मार्दी हिमाल यात्रा पनि पदयात्रा मन पराउनेहरुका लागि राम्रो विकल्प हो । सन् २०१२ देखि पदयात्राका लागि खुला गरिएको यस अन्नपूर्ण क्षेत्र छोटो यात्राका लागि राम्रो मानिन्छ । ट्राभल कम्पनीहरुले यसका लागि सामान्यतयाः ६ रात र ७ दिनको प्याकेज बनाएका हुन्छन । आफै जाने हो भने ५ दिनमै पनि गएर आउन सकिन्छ । प्याकेजमा जाने हो भने १५ हजार रुपैयाँ लाग्छ भने स्वस्फूर्त आफै जाने हो भने १२ हजार रुपैयाँ जति खर्च लाग्न सक्छ ।

११) उपल्लो मुस्ताङ

एतिहासिक गुफा खोजीमा रुचि राख्ने तथा हिमाललाई नजिकबाट हेर्ने मन हुनेका लागि उपल्लो मुस्ताङको यात्रा रोमाञ्चक हुन सक्छ । हिमालयन सस्कृति र प्राकृतिकको समीपमा रहेर आनन्द लिन चाहनेका लागि यो निकै राम्रो क्षेत्र हो । यसका लागि कम्पनीहरुले २७ हजार रुपैयाँसम्मको प्याकेज तयार पारेका छन् । ६ रात र ७ दिनका लागि तयार पारिएका यस्ता प्याकेजमा जाँदा लञ्च, डिनरहरु समावेश गरिएको हुन्छ भने जीपमा जान सकिन्छ ।

१२) इलाम, भेडेटार
पूर्वी नेपालको इलाम र भेडेटार पर्यटकीय दृष्टिले आकर्षक गन्तव्य हुन । इलामको चिया विश्वमै प्रसिद्ध छ । छिन–छिनमै परिवर्तन भइरहने मौसमको अनुभव लिन र हरियालीमा रमाउन चाहनेका लागि यो निकै राम्रो ठाउँ हो । राजधानीमा इलाम र भेडेटार घुम्न जाने हो भने विभिन्न कम्पनीहरुले साढे ८ हजार रुपैयाँदेखि १३ हजार रुपैयाँसम्मका प्याकेज तयार पारेका छन् । जसमा पहिलो दिन काठमाडौंबाट भेडेटार, दोस्रो दिन इलाम, तेस्रो दिन इलाम वा धरानमा बास र चौथो दिन काठमाडौं फर्कने गरी यात्रा तय गरेका छन् । प्याकेजबाहेक आफै जाने हो भने इलामबाट दार्जिलिङ हुँदै, सिक्किममा पनि जान सकिन्छ ।

 


पुष्प दुलाल