सरकारको सहयोग पाए कपडा उद्योगले ५ वर्षभित्रमा ५ लाख रोजगारी सिर्जना गर्छः गोल्यान



काठमाडौं । पवनकुमार गोल्यानले नेपालमा टेक्सटाइल पार्क बनाउनु पर्ने माग गरेका छन् । बिहीबार यार्न एन्ड टेक्सटाइल एक्स्पोको उद्घाटनमा बोल्दै गोल्यानले बुटवल वा काठमाडौं वरपरको क्षेत्रमा पार्क बनाउन सकिने बताए ।

यसले धागो उद्योगको विकासमा सहयोगी हुने बताए । गोल्यानले सरकारले ब्याजदर र विद्युतमा अनुदान दिएको खण्डमा यस उद्योगले आगामी ५ वर्षभित्रमा ५ लाख रोजगारी सिर्जना गर्ने बताए ।

उनले भने, ‘विदेशमा पनि यो उद्योग सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र हो, नेपालमा पनि सरकारले सहयोग गरेको खण्डमा ५ लाख रोजगारी सिर्जना गर्न सकिन्छ ।’

बजेटमा राजस्वमुखीबाट उत्पादनमुखी बनाउने भनिए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्दै अर्थमन्त्रलाई छिट्टै कार्यान्वयन गर्न सुझाव दिए ।

उनले स्वदेशी उत्पादनलाई बढाउनका लागि सरकारले निजामती कर्मचारी, प्रहरी तथा सुरक्षा निकायका पोशाकका लागि अनिवार्य रुपमा स्वदेशी प्रयोग गर्ने गरी नियम बनाउन समेत अर्थमन्त्रीसँग आग्रह गरे ।

जवाफमा अर्थमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन हुन लागेको र त्यसमा बाध्यकारी बनाइने समेत आश्वासन दिए ।


पुष्प दुलाल