भगवान् मलाई ‘यस म्यान’ बाट बचाउ, ‘नो म्यान’ बाट त म आफैं बच्न सक्छुः बैंकर बुद्धि मल्लको बिचार



‘हे भगवान मलाई मेरा साथीहरुबाट बचाउ, म आफूलाई शत्रुहरु त बचाउन सक्षम छु’ यो भनाइ सर्वप्रथम प्राचिन इजरायलका राजा डेबिडले राजकाज चलाउने शिलशिलामा भनेको मानिए पनि अहिले जुनसुकै क्षेत्रमा उत्तिकै सान्दर्भिक छ । अहिलेको व्यवसायिक जीवनमा यस भनाइलाई यसरी बुझ्न सकिन्छ- ‘हे भगवान मलाई मेरा यस म्यानहरुबाट बचाउ, म आफूलाई नो म्यानहरुबाट त बचाउन सक्षम छु ।’

यस म्यानहरुको कुनै स्वभाव हुँदैन । उनीहरुको हाकिमको स्वभाव हेरेर आफ्नो स्वभाव बनाउँछन् । र, आज्ञापालक हुन्छन् । अनि आफ्नो हाकिमको अघि ज्यादै कमजोर र निरिह र जे भनेपनि मान्ने खालका हुन्छन् । हाकिमले भनेका राम्रा–नराम्रा सबै कुराहरु मान्नु उनीहरु आफ्ना कर्तब्य ठान्छन् ।

आफ्नो हाकिमको कुरा मान्यो भने आफू सुरक्षित हुने मान्यतामा रहन्छन् । यस म्यानहरु एउटा साँघुरो घेराभित्रै नै रमाउँछन् । आफ्नो मूल्य, मान्यता तथा आदर्श नहुने भएकोले अरुको मूल्य, मान्यता तथा आदर्श पछ्याउने हुनाले उनीहरु हाकिमको चाहाना बुझेरमात्र बोल्छन् । र, काम गर्छन् । उनीहरु आफ्नो इच्छा, आकांक्षलाई मारेर हाकिमको इच्छा आकांक्षा पूरा गर्न तल्लिन रहन्छन् ।

जसरी कन्जुसबाट दानको आश गर्नु मुर्खता हुन्छ । त्यसैगरी, यस म्यानबाट उनीहरुकोे बिचारको आश गर्नु मूर्खता हो । किनभने यो भावना तीनिहरुको मनमा हुँदैन । उनीहरुलाई आफ्नो बिचार प्रकट गर्नु आगोको भुंग्रोमा हामफाल्नु सरह लाग्छ ।

एकादेशमा एकजना राजा थियो । एकदिन उसलाई एउटा सनक चल्यो । र, आफ्ना सिपाहीहरुलाई शहरको एउटा पुलबाट आवत-जावत गर्ने जनताहरुलाई एक-एक लात हानेर पठाउनु भन्ने आदेश दिए । सैनिकहरुले आदेशको पालना गर्दे गए । र, जनताहरुमा पनि लात्ति खाने बानी पर्दै गयो ।

केही दिनपछि राजाले दिनदिनै लात्ति खाँदा जनताहरुलाई दुख भयो कि भन्ने मनमा आयो । र, जनताहरुलाई बोलाएर उनीहरुलाई ‘केही समस्या भए भन्नु’ भने । त्यत्तिकैमा एकजना ब्यक्तिले भन्यो- महाराज, सरकारको कृपाले अरु त सबै ठीक छ । तर, पुलमा लात्ति हान्ने सैनिकको कमी भएर हामी सर्वसाधारण लात्ति खान घण्टौं कुर्नुपर्ने भएकोले समस्यामा छौं । त्यसैले लात्ति हान्ने सैनिक थपिदिनु भए हामीलाई सुविधा हुने थियो ।’

यो कथा केही समयअघि फेसबुकमा निकै चर्चित भएको थियो । तथापि कथामा नेपालको राजनीतिज्ञहरुलाई जोडेर ब्याख्या गरिएको थियो । यो कथाले बास्तविक यस म्यानहरुको चरित्रलाई स्पष्ट पारेको छ । राजाले केही समस्या छ भनेर सोध्दा समेत रिसाउनु हुन्छ कि भनेर राजको सामु हामीलाई लात हानेर दुख पाएका छौं भनेर भन्न नसक्ने अरु लात खान समेत तयार हुने यस्तो मनोबृत्ति धेरै मानिसहरुमा पाइन्छ ।

कहिलेकाहीँ मानिस परिवन्दमा परेर परि यस म्यान बन्नुपरेकोे हुन्छ । यस्ता परिवन्दमा परेर अरुले जे गर भने पनि गर्नुपरेको बिभिन्न फिल्महरुमा देखिन्छ । परिवन्दमा परेर यस म्यान बन्नुपरेकोलाई नकरात्मक लिन नमिल्ने हुन सक्छ ।

नियम कानून, धर्म तथा संस्कृतीले जे भनेता पनि कहिलेकाहीँ परिवन्दमा परेर गर्नुपरको कार्यलाई छुट पनि दिइन्छ । जब मानिससँग गर्ने अन्य कुनै बिकल्प रहंदैन भने उसले अन्य राम्रो कार्य गर्न पनि सक्दैन र परिवन्दमा परेर गरेको कार्य उसको ब्यक्तिगत स्वार्थभन्दा माथि हुन सक्छ ।

महाभारत युद्धमा अर्जुनको धनुषबाण लागेपछि कर्णलाई लाग्छ । बाण लागेपछि भगवान कृष्णले आफ्नो निकटतम साथी कर्णलाई तीमिले गरेको पापबाट मुक्त होऔ कर्ण भनेपछि कर्णले कृष्णलाई आफूले कहिल्यै पनि पाप नगरेको तर, जहिल्यै पनि परिवर्तनको पक्षमा उभिएको मैले गरेको कस्तो पापबाट मुक्ति हुनुपर्यो भनि बिन्ती गर्दा भगवान कृष्णले जवाफ दिनुहुन्छ- ‘हे कर्ण तिमी आफैँले कुनै पाप गरेको छैनौ । तर कौरवहरुले द्रौपतिलाई बस्त्रहरण गर्दा तीमिले हेरिरह्यौ । अभिमन्यूलाई छलकपट गरि हत्या गर्दा समेत तिमिले हेरिरह्यौं । तिमीले कौरवहरुले गरेको अन्यायमा मौन बसिरह्यौं । त्यसैले यो नै तिम्रो पाप हो र त्यो पापबाट तिमि मुक्त हुनुपर्छ ।’

बास्तवमा भनिन्छ कि, मानिसहरुले धेरै बोलेर बिगार्छन् । तर यस म्यानहरुले नबोलेर बिगार्छन् । उनीहरुले नबोलेर कुनै गलत कार्य हुन भूमिका निर्वाह गरिरहेका हुन्छन् । नबोलेर मौन स्वीकृति दिएर उनीहरुले खराब कार्यमा अप्रत्यक्षरुपमा सहयोग गरिरहेका हुन्छन् ।

कर्णले पनि कौरबहरुले खराब कार्य गरिरहेको जान्दा-जान्दै पनि चुपचाप बस्नु नै तिम्रो पाप हो भनेर भगवान कृष्णले सम्झाएपछि कर्णले प्राश्चित गर्ने निर्णय गर्छन् । र, भगवान कृष्णले भन्नुभए झैं पापबाट मुक्तिको लागि तयार हुन्छन् । र, अर्जुनले कर्णको मुक्तिको लागि अन्तिम धनुषबाण चलाउँछन र कर्णले मुक्ति पाउँछन् ।

हाकिमले आफ्ना कर्मचारीहरुलाई जोक सुनाएपछि सबैजसो गलल्ल हाँसे । तर एकजना नहाँसेको देखेर हाकिमले तिमिलाई जोक मन परेन भनेर सोध्दा उसले जवाफ दियोः सर म अर्काे कम्पनीको म्यानेजर पदको लागि छनौट भएको छु । यस जोक अनुसार कम्पनीमा कर्मचारीहरु यस म्यान रहेछन् । र, तिनीहरुको यस म्यान बन्नु कुनै न कुनै कारण हुनसक्छ । तर नहाँस्ने ब्यक्तिसँग जागिर गुमिहाल्छ कि भन्ने डर रहेछ । तर जब उनले अर्काे कम्पनीमा जागिर पाउँछन् तिनको डर समाप्त हुन्छ । र, यस म्यान बन्दैनन् ।

राम्रो कामको लागि यस म्यान बन्नु बफादार बन्नु हो । यस्तो बफादारिताले सकरात्मक नतिजा ल्याउँछ । राम्रो हाकिम भएको ठाउँमा बफादार कर्मचारीहरु भएमा उनिहरुको भरपूर सहयोग र समर्थनले संस्थाले राम्रो नजिता दिन सफल भएको कैंयौं उदाहरणहरु छन् ।

यस्ता बफादार कर्मचारीहरुलाई मानिसहरुले प्रशंसा गर्छन् । र, सकरात्मक नजरले हेर्छन् भने गलत कार्यमा पनि केही पनि नबोली उक्त कार्यमा समर्थम गर्ने यस म्यानहरुले गर्दा कैंयौं संस्थाहरु धराशायी भएको उदाहरणहरु प्रशस्त भेटिन्छन् । र, यस्ता यस म्यानहरुलाई मानिसहरुले घृणा गर्छन् ।

नेपालमा बिभिन्न कम्पनीहरुमा हाकिमले भनेको गतल काम पनि खुरुखुरु गरेर कम्पनी नै धराशायी भएको र हाकिमको सँगै कारवाहीमा परेर जेल समेत गएका छन् । ती जेल गएका कतिपय कर्मचारीहरु त ती निर्णयमा उनिहरुको कुनै पनि ब्यक्तिगत स्वार्थ समेत नभएको पनि पाईएको भएतापनि उनिहरुले निर्णयमा यस म्यान भई समर्थन गरेकोले कारवाहीको भागिदार बन्नुपरेको देखिएको छ । यदि ती कर्मचारीहरुले हाकिमलाई यो कार्य गर्नुहुँदैन भनेर प्रश्न गरेको भए सायद त्यस्ता कुनै कार्य रोकिन सक्थे । र, आफू पनि कारवाहीबाट बच्न सक्थे ।

नोबेल पुरस्कार बिजेता विलियम फउल्क्नरले भनेका छन् । ईमान्दारीता र सत्यको लागि कहिल्यै पनि आफ्नो कुराहरु राख्न कहिल्यै पनि नडराउनु । यदि मानिसहरुले आफ्ना कुराहरु राख्न डराएनन् भने यसले संसार बदलिन्छ । आफ्ना कुराहरु निर्धक्क संग राख्नु असल एवं स्वभाविमान मानिसहरुको परिचय हो । र, गलत कार्य हुनबाट जोगाउनु एउटा असल मानिसको कर्तब्य हो ।

सही कार्यको लागि पूर्णबफादार बनेर कार्य सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउने र गलत कार्यको लागि आफ्ना कुरा निर्धक्कसँग राखेर कार्य रोक्नु दुबै असल ब्यक्तिका परिचय हुन् । असल काममा बफादार बनि प्रशंसाको योग्य बनौं । तर, गलत कार्यको लागि यस म्यान बनेर घृणाको पात्र नबनौं । यस म्यान बनेर गलत कार्यमा पनि सहभागि नबनौं ।

(लेखक मल्ल ओम डेभलपमेन्ट बैंकका डेपुटी सीइओ हुन् ।)


पुष्प दुलाल