काम गर्ने नेप्से, जस लिने रेबतबहादुर, भत्ता लिएर स्पष्टिकरण



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष रेवत बहादुर कार्कीले आफ्नो कार्यकालको अन्तिम समयमा आएर नेप्सेलाई निर्देशन कार्यान्वयन गर्न दिएको निर्देशनले आफै आलोचित बनेका छन् ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई यसअघि दिएको विभिन्न ८ निर्देशनको जवाफ एक साता भित्र पठाउन भन्दै भदौ २६ गते निर्देशन दिएको थियो ।

नेप्सेका अधिकारीका अनुसार नेप्सेले गरेको हरेक कामको समय समयमा जानकारी गराएको र बोर्डले सोधेको ८ वटै प्रश्नको जवाफ पठाएपनि पुनः दुःख दिने नियत राखेको छ ।

नेप्सेका ति अधिकारीले नाम नबताउने शर्तमा भने ‘हामीले गरेको, गरिरहेको हरेक कामको पाइला पाइलाको जानकारी बोर्डलाई गराइ रहेका छौं, तै पनि बोर्ड र अध्यक्ष कार्कीले आफूले काम गरेको देखाउन ८ प्रश्नको जवाफ मागेको हो, त्यसमा कतिपय काम अन्तिम चरणमा रहेका छन्, ती सकिएपनि आफुले निर्देशन दिएर काम सकिएको भनेर जस लिनको लागि यति गरेको हो, यसको कुनै तुक छैन ।’

बोर्डले सिस्टम अडिटमा समावेश गर्न उपयुक्त हुने मापदण्डहरु नेप्सेमा मागेको छ । यता नेप्सले भने जसको अडिट गर्ने हो उसैले मापदण्ड दिँदा त्यसको प्रभावकारीता नहुने बताउँदै आएको छ । मापदण्ड आफैले बनाउनु पर्नेमा नेप्सेमा माग्नुको अर्थ नरहेको ति अधिकारीले उल्लेख गरे । मापदण्ड त रेगुलेटरले दिनु पर्ने उनको तर्क छ ।
उनले भने ‘संसारमा यस्तो कही पनि हुँदैन । हामीले अडिट गर्ने अनि हामीले नै मापदण्ड दिने हो भने त्यसको अर्थ हुँदैन । आफैले मापदण्ड बनाउने हो भने आफू अनुकुलको आउँछ ।’

यस्तै बोर्डले मागेको जवाफमा भौतिक रुपमा न्यूनतम कित्ता ग्रहण गरेका लगानीकर्ताहरुको सेयर कारोबार गरी अभौतिकीकरण गर्ने प्रणालीको विकास गर्ने विषय रहेको छ । नेप्सेका अनुसार यो तयार भइसहेको छ । तर सिडिएससीले सेटलमेन्ट गर्न समय लाग्ने भएर त्यो समस्या समाधान सिडिएसबाट नै गर्न दुई वर्ष अघि नै चिठि लेखेको भएपनि अहिले आएर त्यसको जवाफ माग गरेको छ । यो त बोर्डको निहु खोज्ने काम मात्रै भएको नेप्सेको भनाई छ ।

यता बोर्डले नेप्सेलाई कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई सेक्युरिटिज डिलरलाई प्रवेश गराउने सम्बन्धमा अध्ययन गरी बोर्डमा सिफारिस गर्ने भनेको छ । यस विषयमा नेप्सले अध्ययन गरेर त्यसको मेकानाजिम बनाएर स्वीकृति दिनु भनेर बोर्डलाई नै पठाए पनि त्यससको स्विकृती नदिएको ति अधिकारीको तर्क छ । उनका अनुसार वैशाख महिनामा बोर्डमा पठाएको हो । बोर्डलाई नेप्सेले पोलिसी बनाएर स्विकृती दिनु भनेकोमा बोर्डले उल्टै काम के भएको छ भने अनावश्यक प्रश्न गरेको उनको तर्क छ ।

बोर्डले बजारका लगानीकर्ताहरुको हित संरक्षण कोष स्थापना गर्ने र बजारका लगानीकर्ताहरुको हित संरक्षणको लागि विद्यमान कानूनी व्यवस्थामा सुधार गर्ने विषयमा पनि जवाफ मागेको छ ।

नेप्सेका अनुसार कम्पनी रजिष्टारको निर्देशनमा बोर्ड आफै बसेर खडा गरेको थियो । त्यो अहिले कहाँ पुग्यो भनेर प्रश्न सोध्नु हाँस्यास्पद भएको नेप्सेको भनाई छ । यो नेप्सेमा सिताराम थपलिया भएको समयमा नै भएको हो । नेप्सेका एक अधिकारीले भने ‘त्यो समयमा नै बोर्डका अध्यक्ष कार्कीले लगानीकर्ताहरुको हित संरक्षण कोष स्थापना गर्ने भनेर माइनुटमा हस्ताक्षर गरेर भत्ता लिएर आउनु भएको हो, अहिले हामीलाई प्रश्न गर्नुहुन्छ ।’

यस्तै तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिने तथा संघीय संरचना अनुसार प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्लाहरुमा (काठमाडौं बाहेक) स्थानीय स्तरमा ब्रोकर लाईसेन्स दिने सम्बन्धमा ७ दिन भित्र जवाफ पेस गर्न भनेको छ । नेप्सेले संघीय संसद अन्तर्गतको अर्थ समितिको पत्रको आधारमा रोकेको भनेर जानकारी गराएको नेप्सेले जनाएको छ ।


क्लिकमान्डु