मार्जिन कारोबार गर्न योग्य २१ वटा ब्रोकरले कुन बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्न पाउँलान ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्नको लागि अनुमतिपत्र दिएको जनाएको छ ।

नेप्सेले सूचना जारी गर्र्दै लगानीकर्ताले २१ वटा ब्रोकर कम्पनी मार्फत विभिन्न ३३ वटा बैंक तथा वित्तीय संस्थामा मार्जिन कारोबार गर्न पाउने छन् ।

नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा पाउने ब्रोकर कम्पनीहरुमा क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज (५०), सेक्युर्ड सेक्युरिटिज (३६), भिजन सेक्युरिटिज (३४), नेपाल स्टक हाउस (१४), प्राइमो सेक्युरिटिज (१६), कृष्ण सेक्युरिटिज (२८), कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (३५), दिपशिखा धितोपत्र कारोबार कम्पनी (३८), सुन्धारा सेक्युरिटिज (५२), प्रज्ञान सेक्युरिटिज (१०), इम्पेरियल सेक्यूरिटिज (४५), दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउस (५९), रहेका छन् ।

यस्तै  आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (५७), डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज (४४), दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (३३), स्वेता सेक्युरिटिज (२५), सुमेरू सेक्यूरिटिज (३९), नासा सेक्युरिटिज (५८), निभ सेक्युरिटिज (४७), सिप्रवी सेक्युरिटिज (२२) र अनलाईन सेक्युरिटिज (४९) ले मार्जिन सेवाका लागि अनुमति प्राप्त गरेका छन् ।

यी ब्रोकर कम्पनीलाई नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ मा भएको व्यवस्था अनुसार आवश्यक प्रकृया पुरा गरेकालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ बमोजिम मार्जिन कारोबार लागि कर्जा लगानी गर्न अनुमति दिएको नेप्सेले जनाएको छ ।

नेप्सले मार्जिन कारोबारको लागि ३३ वटा बैंक तथा वित्तीय संस्थालाई योग्य ठहर्याएको छ । जसमा १२ वटा वाणिज्य बैंकहरुमा एभरेष्ट, ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल बंगलादेश, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, सानिमा, नेपाल एसबिआई, सनराइज, सिद्धार्थ, हिमालयन र एनएमबि बैंक रहेका छन् ।

यता ७ विकास बैंकहरुमा गरिमा, मुक्तिनाथ, कैलाश, पूर्णिमा, तिनाउ मिसन, गण्डकी र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छ भने ९ माइक्रोफाइनान्समा आरएसडिसी, विजय, वोमी, आरएमडिसी, एनएमबि माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी, लक्ष्मी, ग्लोबल आईएमई, र नेशनल माइक्रोफाइनान्स कम्पनी रहेका छन् । यता हाइड्रोपावर कम्पनीहरुमा चिलिमे, बुटवल पावर र ङादी पावर रहेका छन् भने ओरियन्टल र नेपाल टेलिकम रहेका छन् ।

नेप्सेले मार्जिन सुविधा सम्बन्धि कार्यविधि बमोजिम १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्ने प्रावधान रहेको जनाएको छ । आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीहरु मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछन् ।


क्लिकमान्डु