पजेरो र जीप लिलामीमा, ५२ हजारमै पाइने
काठमाडौं । भेरी अस्पताल, नेपालगञ्जले पुरानो पजेरो जीप, महिन्द्रा जीप र निशान एम्बुलेन्स लिलामी गर्ने भएको छ ।
शुक्रबार सूचना जारी गर्दैै अस्पतालले लामो समयसम्म मर्मत हुन नसकी बिग्रिएर थन्किएका एम्बुलेन्स–१ थान, जीप थान–२ ले जे जस्तो अवस्थामा छ बोलकबोलपत्रको माध्यममार्फत् लिलाम बिक्री गर्ने उल्लेख गरेको छ ।
सूचनामा पजेरो जीप, मित्सुबिसी ब्राण्डको मूल्य ६५ हजार रुपैयाँ तोकिएको छ । सेतो रंगको पजेरो १९८८ मा बनेको उल्लेख गरिएको छ ।
त्यस्तै, महिन्द्रा जीपको मूल्य ५२ हजार रुपैयाँ तोकिएको छ । सेतो रंगको जीप १९९४ मा बनेको हो ।
निशान एम्बुलेन्सको मूल्य भने ९० हजार रुपैयाँ तोकिएको छ । सन् २००७ मा बनेको निसान पनि सेतो रंगमै छ । माथि उल्लेखित मूल्य सबै कर बाहेकको रकम हो ।
साथै अस्पतालले पुराना झ्याल ढोका, नयाँ कटान मछान गरिएका काठ दाउरा र सालका दाउरा पनि बिक्री गर्ने भएको छ ।
जसका लागि सालबाट बनेका पुरानो झ्याल ढोकाका लागि ४ लाख ८८ हजार ६९० रुपैयाँ, नयाँ कटान, मछान गरिएका सालका काठ र दाउराका लागि १ लाख १० हजार ७१५ रुपैयाँ र सालका दाउराका लागि १७१० रुपैयाँ गरी कुल ५ लाख १ हजार ११५ रुपैयाँ तोकेको छ ।