भारत र कोरियाबाट प्रभु बैंकले रेमिट्यान्स ल्याउने, २१ हजार खाता खोलिने



काठमाडौं । प्रभु बैंक र यूके एड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच भारत र दक्षिण कोरियाबाट नेपालमा रेमिट्यान्स ल्याउने कार्यका लागि सम्झौता भएको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रभु बैंकका सीईओ अशोक शेरचन र सक्षमका टिम लिडर निर्मल दहालले हस्ताक्षर गरे ।

परियोजना अन्तर्गत भारत र दक्षिण कोरियामा रहेका नेपालीहरुमध्ये २१ हजार जनाको बैंक खाता खोलिने लक्ष्य छ । साथै ६ सय जना नेपालीका आश्रित परिवारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।

साथै, आश्रित परिवारमा बीमा कार्यक्रम पनि लगिनेछ र बीमा गराउनका लागि प्रोत्साहन गरिने शेरचनले जानकारी दिए ।

१० करोड रुपैयाँ लगानी रहने उक्त परियोजना अन्तर्गत सबैमा डिजिटल कारोबारलाई समेत बढावा दिनु रहेको शेरचनको भनाइ छ ।
भारतमा ५० लाख तथा दक्षिण कोरियामा ५० हजारको संख्यामा नेपालीहरु कार्यरत छन् ।

अहिले प्रभु रिमेटले १८ वटा अन्तर्राष्ट्रिय एजेन्ट तथा १२ हजारभन्दा बढी आन्तरिक रिमेट कार्यालयबाट कारोबार गरिरहेको छ ।
सन् २०१९ को मार्चदेखि सुरु हुने परियोजना सन् २०२० जुलाईसम्म चल्नेछ ।

नेपालमा गत वर्षमात्रै झण्डै ८ खर्ब रेमिट्यान्स आएको थियो । दक्षिण एसियामा जीडीपीका हिसाबले पहिलो देश हो भने रिमिट अमाउन्टका हिसाबले चौथो ठूलो देश हो । भने विश्वमा नेपाल रेमिट्यान्स ल्याउने १९ औं देश हो ।


क्लिकमान्डु