भैरहवा विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई इन्धन, पार्किङ र ल्यान्डिङ चार्जमा छुट: पर्यटनमन्त्री



काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई पार्किङ, ल्याण्डिङ चार्जमा छुट दिइने बताएका छन् ।

शनिबार राजधानीमा आईएमई समूहले आयोजना गरेको सलाम एयरको दैनिक उडान तालिका सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले केही समयपछि सञ्चालनमा आउन लागेको भैरहवास्थित विमानस्थलमा सला एयरलाई आकर्षित गर्न छुट दिने बताएका हुन ।

उनले भने, ‘भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्ने सबै विमानलाई पनि इन्धन सस्तोमा दिन सकिन्छ, पार्किङ र ल्यान्डिङ चार्जमा पनि छुट दिन सकिन्छ ।’

उनले त्यहाँबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदार निकै रहेकाले उनीहरुलाई पनि सहज हुने बताए । नेपाल विश्वको लागि उत्कृष्ठ गन्तव्य बनि रहेको उल्लेख गर्दै भट्टराईले सलाम एयरले नेपालमा उडान थप्नु प्रशंसनीय भएको बताए ।

सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने योजना रहेकोमा त्यासका लागि सलाम एयरले सहयोगी भूमिका निर्वाह गर्न सक्ने मन्त्री भट्टराईको विश्वास थियो ।

अहिले त्रिभुवन विमानस्थल प्रयोग गरेर आउने पर्यटक वर्षेनी ७ प्रतिशतले बढेको उल्लेख गर्दैै यो बढाउन आवश्यक रहेको बताए । त्यसको लागि भौतिक पूर्वाधार आवश्यक रहेको बताए ।

उनले गौतम बुद्ध विमानस्थल यो वर्षको डिसेम्बरमा पूरा हुने बताए । उनले अहिले ८० प्रतिशत काम सम्पन्न भएको समेत जानकारी दिए ।

त्यस्तै पोखरा विमानस्थल पनि सन् २०२१ जुनसम्म सकिने बताए । उनले भने, ‘पोखराको विमानस्थल त ६ महिना अघि नै सक्ने तयारीमा रहेका छौं ।’ अहिलेसम्म ४५ प्रतिशतमा सकिएको उनको भनाइ छ ।

नेपालमा मुस्लिम पर्यटन आकर्षित गर्नका लागि प्रार्थना गर्ने ठाँउ रहेको, खाने कुरा पनि मिल्दो खालको रहेको, होटलहरुमा पनि हलाल गरेको मासु राख्ने वातावरण बनाउन तयार रहेको बताए ।

नेपालमा हाल ३० वटा विमान कम्पनीले उडान भरेको र त्यसमा पनि प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गरे ।

सलाम एयरले वर्षमा ५/६ लाखभन्दा बढी पर्यटक ल्याएको खण्डमा सोचेको भन्दा धेरै राम्रो पुरस्कार सरकारले दिने धारणा राखे ।

अब सरकारले भिषाबापतको शुल्क अनलाइन प्रणालीबाट नै तिर्ने व्यवस्था मिलाउन लागेको जानकारी गराए ।

कार्यक्रममा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई सफल बनाउनको लागि आगामी साताबाट दैनिक उडन भर्न लागेको बताए ।

अहिले सातामा ३ उडान भनेर सलामले आगामी साताबाट दैनिक १ उडान भर्ने उनको भनाइ छ । यसले रोजगारीको लागि ओमान जाने कामदारलाई न्यून हवाई शुल्कमा उडाउने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा आईएमई समूहको प्रबन्ध निर्देशक हेमराज ढकालले सलामको मुख्य गन्तव्य ओमान हुने बताए । अहिले सलामले ९ वटा एयरक्राफ्टबाट २० वटा देशमा उडन भरिरहेको बताए ।

सलामले गत वर्ष ५० हजार यात्रु बोकेको थियो भने यो वर्ष १ लाख पुर्याउने योजना रहेको जनाएको ढकालले बताए ।

कार्यक्रममा सलाम एयरको धेरै टिकट बिक्री गर्ने १० वटा ट्राभल्सहरुलाई सम्मान गरिएको छ ।

जसमा एक्सले, हार्भेष्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, ओपन वेथ, प्रयास रस्मिता इन्टरनेशनल र सिलिंक ट्राभल्स एण्ड टुर रहेका छन् ।


क्लिकमान्डु