बैंक लुट्नेको बिगबिगीः जर्मनको बैंकबाट कार्ड घोटेर ब्राजिलका ह्याकरले लुटे १९ करोड रुपैयाँ



काठमाडौं । नेपालमा चिनियाँ ह्याकरहरुले विभिन्न बैंकका एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी गरेको ४ दिनमै जर्मनीमा पनि त्यस्तै प्रकृतिको घटना भएको सार्वजनिक भएको छ ।

नेपालका ५ वटा बैंक तथा उनीहरुका एटीएम बुथ र भारतबाट समेत ह्याकिङ गरी चोरी गर्ने उनीहरुमध्ये ६ जना पक्राउ परिसकेका छन् ।

नेपालमा उक्त घटना सेलाउन नपाउँदै प्रविधिमा सुरक्षित मानिने जर्मनीमा उक्त घटना भएको छ । जर्मनीमा डेविट कार्ड प्रयोग गरी ह्याकरहरुले १.६५ मिलियन अर्थात् १९ करोड नेपाली रुपैयाँ चोरी गरेका छन् ।

ब्राजिलका अपराधिक समूहले जर्मन बैंक ओएलबीले जारी गरेको मास्टरकार्ड प्रयोग गरी उक्त रकम निकालेका छन् । उनीहरुले २ हजारभन्दा बढी ग्राहकका खाताबाट उक्त रकम चोरी गरेका थिए ।

सबैभन्दा सुरक्षितमध्येका एक मानिने यूरोपे मास्टर कार्ड (चिप–पिन) प्रयोग गरी चोरी हुँदा ह्याकरबाट बच्नका लागि थप चुनौती थपिएको छ ।

उक्त घटना कैयन साइबर सेक्युरिटी एक्सपर्टहरुले नियालेका थिए । जसमा ओल्डेनबुर्गाइचे ल्याण्डस्बैंक (ओएलबी)बाट ग्राहकका रुपमा बैंकमा प्रवेश गरेका थिए ।

उक्त घटना भएपछि बैंकले पुरानो सबै मास्टर कार्ड ब्लक गरेर त्यसको ठाउँमा नयाँ कार्ड परिवर्तन गर्ने बताइसकेको छ । बैंकले उक्त घटनालाई सांगठनिक अपराध मानेको छ ।

उक्त घटनापछि जर्मनीमा बैंकको सुरक्षाको विषयलाई लिएर नयाँ चूनौती थप भएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ब्राजिलका स्थानीय साइबर अपराधीहरुसँग ईभीएम कार्डहरुको क्लोन गर्ने क्षमताका कारण उक्त घटना भएको जनाइएको छ ।

उक्त घटनालाई मास्टरकार्डले पनि छानबिन गर्ने बताइसकेको छ भने बैंकले सेक्युरिटी ब्रिच नभएको बरु सांगठनिक अपराधका कारण उक्त घटना भएको स्पष्ट पारेको छ । एजेन्सीको सहयोगमा


पुष्प दुलाल