आर्थिक पत्रकारलाई चुनाव लाग्योः १० पदमा १९ जना भिड्दै, कस्ले मार्ला बाजी ?



काठमाडौं । यतिबेला आर्थिक पत्रकारहरु चुनाबी चटारोमा छन् । यही भदौ १४ गते हुने नेपाल आर्थिक पत्रकार समाज (सेजन)को साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

हरेक दुई-दुई वर्षमा हुने सेजन चुनाबमा डेढ दर्जन पत्रकारले उम्मेद्वारी घोषणा गरिसकेका छन् । उम्मेद्वारहरुले मिडिया हाउसमै गएर र व्यक्तिगत भेटघाटलाई तीब्र बनाएका छन् ।

प्रोफेसनल पत्रकारहरुको साझा संस्था भएकाले सरकार, निजी क्षेत्र तथा सरोकारवालाहरुमाझ सेजन निकै लोकप्रिय छ । त्यसैले सेजनको नेतृत्वमा जान आर्थिक पत्रकारहरु आकर्षित हुन्छन् ।

२०५४ सालमा प्रतीक प्रधान संस्थापक अध्यक्ष भएर स्थापना गरिएको सेजनको साधारण सदस्य बन्न ५ वर्ष सक्रिय आर्थिक पत्रकारिता गरेको र स्नातक उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ ।

सेजनमा जम्मा २ सय ६० जना सदस्य छन् । जसमध्ये २ सय ५२ जनाले सदस्ययता नविकरण गरिसकेको सेजनका अध्यक्ष पुष्पराज आचार्यले जानकारी दिए । केही सदस्यहरु देशबाहिर रहेकाले उनीहरुको सदस्यता नविकरण भएको छैन ।

‘खासगरी सेजनले आर्थिक पत्रकारहरुको क्षमता विस्तार गर्न काम गर्छ गर्ने संस्था हो,’ अध्यक्ष आचार्यले क्लिकमाण्डूसँग भने, ‘सेजनले थिंक ट्यांकको रुपमा काम गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिँदै आएको छ ।’

भदौ १४ गते बिहान राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले सेजनको १८औं साधरणसभाको उदघाटन गर्ने आचार्यले बताए।

‘साधारणसभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘१४ गते बिहान ९ बजे भोटर लिस्ट सार्वजानिक हुन्छ र १ बजेदेखि ४ बजेसम्म मतदान हुन्छ ।’

को को छन् उम्मेद्वार ?

अध्यक्ष पदका लागि अहिलेको कार्यकालका महासचिव भीम गौतम र पूर्वमहासचिव मोदनाथ ढकाल प्रतिस्पर्धी छन् । गौतम कारोबार दैनिकमा काम गर्छन् भने ढकाल दि राइजिङ नेपालमा कार्यरत छन् । यसअघिको चुनावमा ढकाल पुष्पराज आचार्यसँग झिनो मतले अध्यक्षमा पराजित भएका थिए ।

पूराना आर्थिक पत्रकार कृष्ण विष्टले पनि अध्यक्षमा उठ्ने भन्दै मत माग्न थालेका छन् । विष्ट नेपाल हलचल डटकममा कार्यरत छन् ।

त्यसैगरी, उपाध्यक्ष पदका लागि आर्थिक कारोबार दैनिककी सरस्वती ढकाल, नेपालन्यूज डट कमका विष्णु बेल्बासे र मोवाइल्स खबर डटकमका अनुजराज ढुंगेलले उम्मेद्धारी घोषणा गरेका छन् । उनीहरु तीनैजना अहिलेको कार्यसमितिमा छैनन् ।

महासचिवमा २ जना प्रत्यासी देखिएका छन् । क्यापिटल म्यागेजिनका सुजन ओली र एपी वान टेलिभिजनका अच्युत पौडेलले उम्मेद्धारी घोषणा गरेका छन् । ओली अहिलेको कार्यसमितिका सचिव हुन् ।

सचिव पदमा भने सबैभन्दा धेरै (४ जना) उम्मेद्धार देखिएका छन् । नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल, रिपब्लिका दैनिकका सागर घिमिरे, कान्तिपुर दैनिकका राजु चौधरी र न्यूज सेवा डटकमका विष्णु पोखरेलले उम्मेद्धारी दिने घोषणा गरेका हुन् । रिजाल र घिमिरे अहिलेको कार्यसमितिका सदस्य हुन् ।

अहिलेसम्म कोषाध्यक्षमा इमेज टेलिभिजनका हिमाल पौडेल मात्रै देखिएका छन् ।

त्यसैगरी, सदस्यहरुमा अन्नपूर्ण पोष्ट दैनिकका बिनय बञ्जरा, दि हिमालयन टाइम्सका सुजन ढुंगाना, नयाँ पत्रिका दैनिकका मुना कुँवर र जीवन बस्नेत, आर्थिक अभियान दैनिककी हिमा बिक, क्यापिटल नेपाल डट कमकी कमला अर्याल, माउन्टेन टेलिभिजनका बिपी पोखरेलले उम्मेद्धारी घोषणा गरेका छन् ।

निर्वाचन किमिटीमा को छ ?

सेजन अध्यक्ष आचार्यका अनुसार मूख्य निर्वाचन अधिकृतमा अनुसार सुरेश आचार्य छन् भने सदस्यमा अभिवक्ता रोशन पोखरेल र नेपाल पत्रकार महासंघका रोशन पुरी छन् ।


रवि धिताल