ओली सरकारलाई पत्याएनन् विदेशीले, ५७ प्रतिशतले घट्यो विदेशी लगानीको प्रस्ताव



काठमाडौं । सरकारले विकास निर्माणमा विदेशी लगानी ल्याउन अनेकन प्रयास गरेपनि विदेशी लगानी भने घट्दै गएको छ ।

सरकारले विदेशी लगानी ल्याउनका लागि लगानी सम्मेलन नै गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आर्थिक मञ्चमा गएर नेपालमा लगानी गर्न आग्रह गरे ।

तर त्यसले पनि विदेशी लगानी बढाउनका लागि केही फरक पारेन ।

बरु उल्टै विदेशी लगानी घट्यो । उद्योग विभागले दिएको तथ्यांकअनुसार २०७४/७५ सालमा भन्दा २०७५/७६ मा विदेशी लगानी ५७.४९ प्रतिशतले कमी आएको छ ।

०७४/७५ मा ४४ वटा देशबाट लगानी आएको थियो भने २०७५/७६ मा जम्मा ३२ वटा देशबाट नेपालमा लगानी आएको छ ।

२०७४/७५ मा ५५ अर्ब ७५ करोड ४८ लाख रुपैयाँ नेपालमा लगानी भित्रिएको थियो । तर अर्को वर्ष २०७५/७६ मा अघिल्लो वर्षको आधाभन्दा कम लगानी २३ अर्ब ९४ करोड ९२ लाख ५० हजार रुपैयाँ मात्रै नेपालमा भित्रिएको छ ।

यी देशबाट सबैभन्दा बढी घट्यो

२०७४/७५ मा कुल विदेशी लगानीमध्ये ४६ अर्ब ५३ करोड १९ लाख ४० हजार रुपैयाँ चीनबाट मात्रै आएको थियो । तर गत वर्ष भने चीनबाट आउने लगानीमा झण्डै ७४ प्रतिशतले कमी आएको छ । गत वर्ष चीनबाट जम्मा १२ अर्ब १२ करोड १९ लाख ५० हजार रुपैयाँ लगानी नेपालमा आएको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको अमेरिकाबाट आउने लगानी पनि निकै कम आएको छ । २०७४/७५ सालमा अमेरिकाबाट १ अर्ब ८८ करोड ६२ लाख रुपैयाँ नेपालमा आएकोमा गत वर्ष भने जम्मा २५ करोड ५० लाख मात्रै नेपालमा विदेशी लगानीका रुपमा भित्रिएको छ ।

यी देशबाट भने बढ्यो

समग्रमा विदेशी लगानी ह्वात्तै घटे पनि भारतबाट आउने विदेशी लगानी भने बढेको छ । आव २०७४/७५ मा भारतबाट ५ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ विदेशी लगानी भित्रिएकोमा गत वर्ष बढेर ६ अर्ब १९ करोड ९ लाख ३० हजार रुपैयाँ नेपाल आएको छ ।

त्यस्तै, सिंगापुरबाट आउने विदेशी लगानी पनि बढेको छ । सिंगापुरबाट २०७४/७५ मा ६५ लाख रुपैयाँ विदेशी लगानी नेपालमा आएकोमा गत वर्ष ह्वात्तै बढेर १ अर्ब ५ करोड ५ लाख रुपैयाँ नेपालमा आएको छ ।

बर्माबाट आयो १२ अर्ब

अन्य देशबाट नेपालमा भित्रिने विदेशी लगानीमा कमी आए पनि तथ्यांकअनुसार भने बर्माबाट लगानी नेपाल आएको छ । बर्माबाट आव ०७५/७५ सालमा १ अर्ब २० करोड रुपैयाँ नेपालमा भित्रिएको छ ।


पुष्प दुलाल